१८ जेठ, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको सुरुमा प्रारम्भ भएको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार पारिएको अमेरिका-इरान सम्झौताको मस्यौदामा थप संशोधन गर्न माग गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार यो पछिल्लो संशोधन विशेष गरी स्ट्रेट अफ होर्मुज र उच्च संवर्द्धित युरेनियम हटाउने विषयसँग सम्बन्धित रहेको छ । ह्वाइट हाउसले भने यस विषयमा आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।
यसैबिच इरानका मुख्य वार्ताकार मोहम्मद बगेर घालिबाफले आइतबार तेहरानले इरानी अधिकारहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने प्रस्ट पारेका छन् । इरानसँगको युद्धविरामको म्याद थप गर्ने खाकाका बारेमा अन्तिम निर्णय लिन राष्ट्रपति ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूबिच गत शुक्रबार बैठक बसेको थियो, तर आगामी कदमका बारेमा कुनै स्पष्ट निर्णय नभई उक्त बैठक सकिएको थियो ।
प्रस्तावित सम्झौताको पछिल्लो मस्यौदामा ६० दिनका लागि हिंसा अन्त्य गर्ने, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र इरानको आणविक कार्यक्रमका बारेमा पुनः वार्ता सुरु गर्ने खाका समावेश गरिएको छ । यदि कूटनीतिक प्रयास सफल भएमा यो सम्झौताअन्तर्गत इरानमाथिका केही प्रतिबन्धहरू हट्न सक्नेछन्, जसका कारण उसले रोक्का गरिएका अर्बौँ डलरका सम्पत्तिमा पहुँच पाउनेछ । महिनौँ लामो युद्ध अन्त्य गर्ने उद्देश्यले ह्वाइट हाउस र तेहरानबिच दिनहुँ भइरहेको सघन वार्ताको शृङ्खलामा आइतबार माग गरिएको संशोधन तेस्रो चरणको परिवर्तन हो ।
यसअघि गत बिहीबार अमेरिकी अधिकारीहरूले दुवै देश सम्झौताको प्रारम्भिक खाका अर्थात् समझदारी पत्रमा सहमत भइसकेको र यसलाई ट्रम्प तथा इरानी नेतृत्वको स्वीकृति आवश्यक रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले फक्स न्युजमा आफ्नी बुहारी लारा ट्रम्पसँगको अन्तर्वार्तामा इरानले आणविक हतियार नबनाउने ग्यारेन्टी आफूलाई चाहिने र यसमा उनीहरू सहमत भएको उल्लेख गरेका थिए । यद्यपि उनले सम्झौताका लागि आफूलाई कुनै हतार नभएको पनि बताएका थिए ।
शुक्रबारको महत्त्वपूर्ण बैठकअघि ट्रम्पले आफू सम्झौता स्वीकार गर्ने पक्षमा रहेको सङ्केत दिएका थिए, तर बैठकपछि ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति ट्रम्पले अमेरिकाको हितमा हुने र उनका सर्तहरू पूरा हुने सम्झौता मात्र गर्ने स्पष्ट पार्दै इरानले कहिल्यै पनि आणविक हतियार राख्न नपाउने अडान दोहोर्याए । उक्त बैठकमा ट्रम्पले धेरै वटा संशोधनका बुँदाहरू अघि सारेका थिए र त्यसयता पनि उनले थप परिवर्तनको माग गरिरहेका छन् ।
यसैबिच सिङ्गापुर भ्रमणमा रहेका अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको सम्झौता राष्ट्रपतिको अपेक्षाअनुसार नभएमा पुनः सैन्य आक्रमण सुरु हुन सक्ने चेतावनी दिएका छन् । उनले अमेरिकासँग त्यस क्षेत्र र विश्वभरि नै पर्याप्त मात्रामा अत्याधुनिक युद्ध सामग्री र हतियारको भण्डार तयारी अवस्थामा रहेको दाबी गरे ।
Nabil bank
तर इरानी अधिकारीहरूले भने ह्वाइट हाउसको यो सन्देशमाथि शङ्का व्यक्त गरेका छन् । इरानी विदेश मन्त्री अब्बास अराघचीले कुनै स्पष्ट निष्कर्षमा नपुगेसम्म अहिले भइरहेका सबै कुराहरू केवल अड्कलबाजी मात्र भएको टिप्पणी गरेका छन् ।
सम्झौताको पाठमा दुवै पक्षले नियमित रूपमा संशोधन प्रस्ताव गरिरहेकाले छलफल अझै जारी रहेको बताइएको छ । इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस कुराकानी अघि बढाउनुअघि रोक्का गरिएको सम्पत्ति फुकुवा हुनुपर्ने माग राखेको छ ।
यस वार्तामा पाकिस्तानले अमेरिका र इरानका अधिकारीहरूबिच मध्यस्थता गरिरहेको छ । गत अप्रिल ८ देखि युद्धविराम लागू भएयता ट्रम्पले अमेरिका र इरान सम्झौताको नजिक पुगेको र वार्ता सकारात्मक दिशामा अघि बढेको बताउँदै आए पनि अहिलेसम्म कुनै औपचारिक सम्झौता हुन सकेको छैन ।


+ There are no comments
Add yours