२७ मंसिर, काठमाडौँ । परागसेचन बिरुवामा हुने प्रजनन प्रक्रिया हो । यसमा फूलको भाले वीज पोथी अङ्गमा पर्न गई सेचन वा मिलन भई बिरुवामा गर्भधारण हुन्छ । बालीनाली उत्पादनका लागि यो प्रक्रिया अपरिहार्य हुन्छ । परागसेचनमा कमी हुँदा बीउ तथा फल नलाग्नुका साथै लागेका गुणस्तरमा कमी आउँछ ।
सामान्यतः हामीले खाने तीन गाँस मध्ये एक गाँस खाना परागसेची जीवहरूको कारणले आइरहेको हुन्छ । त्यसैगरी हामीले गर्ने खेतीमा चार बालीमध्ये तीन बाली परागसेची जीवहरूमा भर पर्छन् । परागसेचकहरूले खाद्य सुरक्षामा प्रत्यक्ष योगदान पुर्याउने मात्रै नभएर जैविक विविधता संरक्षणका लागि पनि महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्।
संयुक्त राष्ट्र संघका अनुसार, विश्वका लगभग ८० देखी ९० प्रतिशत हाराहारी जङ्गली फूल फुल्ने बिरुवा प्रजातिहरू पूर्ण वा आंशिक रूपमा परागसेची जीवहरूमा निर्भर छन् । विश्वभरको कृषि भूमिको ३५ प्रतिशत बालीनालीहरू परागसेचनमा निर्भर छन् । जसमध्ये ७५ प्रतिशतभन्दा बढी बाली (खाद्यान्न, दलहन, तेलहन, फलफूल) को परागसेचन मौरी र मौरीजन्य किराको माध्यमबाट हुने गर्छ।

आर्थिक हिसाबमा हेर्दा विश्वभर परागसेचनबाट उत्पादन हुने वस्तुको मूल्य वार्षिक रूपमा पाँच सय ७७ विलियन अमेरिकी डलर छ भने नेपालमा यसको मूल्य चार सय ७७ मिलियन अमेरिकी डलर बराबर छ । विश्वका एक सय ४६ देशहरूमा ९० प्रतिशत खाना एक सय १५ बाली प्रजातिहरूबाट आउँछ, जसमध्ये ७१ बालीमा मौरीद्वारा परागसेचन गर्ने गरिन्छ ।
मौरीको परागसेचनले धेरैजसो कृषि बालीहरूको उत्पादनमा २५ देखि एक सय प्रतिशतसम्म वृद्धि ल्याउँछ । एउटा अध्ययनले खर्बुजा र स्याउमा एक सय प्रतिशत, सुन्तला र तोरीमा ५० देखी ७५ प्रतिशत, भटमासमा २५ प्रतिशत तथा गोलभेँडामा २५ देखि ४० प्रतिशतसम्मले उत्पादनमा वृद्धि ल्याउने देखाएको छ ।
कुनै–कुनै बालीका लागि मौरी प्रभावकारी परागसेचक नभए पनि पारिस्थितिक प्रणालीका लागि भने यसको धेरै नै महत्त्वपूर्ण योगदान छ । साथै अन्य परागसेचकको भूमिकामा समेत थप टेवा पुर्याइरहेको हुन्छ ।

चित्र १. वातावरणमा पाइने परागसेची जीवहरू
हाल, मानवजन्य क्रियाकलापका कारण मौरीका प्रजातिहरू लोप हुने दर बढेको छ। चरा, चमेरा लगायतका १७ प्रतिशत परागसेची जीवहरू विश्वव्यापी रूपमा लोप हुने खतरामा छन्। मौरी र पुतलीहरू उच्च जोखिमको स्थितिमा छन् । रोग, परजीवी, विषादीको अन्धाधुन्ध प्रयोग, चरन क्षेत्रको अभाव, वासस्थानको नाश, डढेलो लगायतका कारणहरूबाट परागसेची किराहरू र मौरीहरू मासिँदै गएका छन् ।
सघन कृषि अभ्यास, भू–उपयोग परिवर्तन, एकल–बाली, कीटनाशक विषादी र जलवायु परिवर्तनसँग सम्बन्धित उच्च तापक्रमले मौरीपालनमा समस्या निम्त्याउने गर्छ । यही प्रवृत्ति जारी रहने हो भने, आउने केही समयमा फलफूल, तेलहनबाली, बदाम र धेरै तरकारी जस्ता पौष्टिक बालीहरूलाई धान, मकै र आलु जस्ता मुख्य बालीहरूले प्रतिस्थापन गर्नेछन् । यसले गर्दा आहार असन्तुलन सिर्जना हुनेछ।
विगत केही दशकयता संसारभर स्व–सेचित बालीहरू लगाउने प्रवृत्ति बढेको तथा मौरीलगायतका विभिन्न कीराहरूको सङ्ख्यामा आएको कमीले परपरागसेचित बालीहरूको अवस्था निराशाजनक देखिन्छ । सन् २०१९ को एउटा प्रतिवेदन अनुसार कीराहरूको सङ्ख्या २.५ प्रतिशतले वार्षिक रूपमा कम हुँदै गएको तथा ४१ प्रतिशत कीराका प्रजातिहरू लोपोन्मुख अवस्थामा रहेको देखिएको छ ।

नेपालमा खेती गरिने ७० प्रतिशत भन्दा बढी बालीनाली परागसेचनमा आश्रित भएता पनि परागसेचनको कमीले तोरी, फापर, लहरे बाली, सुन्तला, अलैँची, स्याउको उत्पादनमा कमी आएको एउटा अनुसन्धानले देखाएको छ ।
परागसेची जीवहरू घट्दै गइरहेको सन्दर्भमा व्यवस्थित मौरीपालनको माध्यमबाट परागसेचनको अभावलाई पुरा गर्न सकिन्छ । नेपालको हकमा कार्तिकदेखि मङ्सिर महिनासम्म तोरीको फुल फुल्ने सिजन हो, यस समयमा विभिन्न जिल्लाहरूका मौरीपालकहरूले मौरीको चरनका लागि तोरी फुलेको ठाउँमा मौरी चराउन लैजान्छन् ।
विशेष गरी चितवन, दाङ, नवलपरासी, कपिलवस्तुलगायत जिल्लाहरूमा मौरी चराउन लैजाने गरिन्छ । मौरीले तोरी बालीमा चरन गर्दा उत्पादन तथा उत्पादकत्व वृद्धि हुन्छ । तर मौरी एक परागसेची बहुउपयोगी जीव हो भन्ने सन्देश कृषक समुदायमा स्थापित हुन नसक्दा मौरीले तोरीको रस चुसी उत्पादनमा नकारात्मक असर पार्छ भन्ने भ्रम रहेको पाइन्छ । यसले गर्दा चरन क्षेत्रमा समस्या आउने गरेको पाइन्छ ।
विभिन्न प्रतिवेदनमा मौरी चरनले गर्दा तोरीबालीको उत्पादन ५० देखि ७५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क भएता पनि आम बुझाइमा त्यस विपरीतको धारणा फैलिरहेको हो । मौरीपालकले तोरी बालीमा मौरीगोला राखी महको उत्पादन लिँदै गर्दा तोरी खेती गर्ने कृषकहरूले मौरी परागसेचनको माध्यमबाट तोरीको उत्पादनमा वृद्धि भएको पाउँछन् ।
यसरी मौरीपालक र तोरी खेती गर्ने कृषक दुवै आपसमा लाभान्वित हुन्छन् । परागसेचन सेवा हामीलाई प्रकृतिले निःशुल्क दिने सुविधा हो । यसको भरपुर उपयोग गर्न पछि पर्नुहुँदैन । परागसेचनले कृषि उत्पादन वृद्धिमा निकै ठुलो भूमिका खेल्ने भएकाले यसको प्रवर्द्धनको खाँचो पनि उत्तिकै छ ।
यसका लागि सर्वप्रथम त किसानहरूलाई मौरी लगायतका मौरीजन्य किराहरू परागसेची जीवहरू हुन भन्ने बुझाउनु आवश्यक छ । फुल फुलेको समयमा विषादीको प्रयोग नगर्न प्रोत्साहित गर्नुपर्ने दोस्रो भूमिका छँदैछ । विषादी प्रयोग गर्नै पर्ने हुँदा मौरी चरनमा नजाने समयमा मात्र प्रयोग गर्न लगाउनुपर्छ ।
हानिकारक विषादीहरूको प्रयोगमा न्यूनीकरण तथा बिक्री वितरणलाई व्यवस्थित गर्नुपर्छ । विषादी छर्नै पर्दा मौरीपालकलाई जानकारी गराई विषादी छर्न लगाउनु राम्रो विकल्प हो । जैविक खेती तथा एकीकृत शत्रुजीव व्यवस्थापन कार्यलाई बढावा दिनुपर्छ । प्रदेश तथा स्थानीय स्तरमा चरन क्षेत्रहरू निर्धारण गर्दै चरन क्षेत्र भित्र विविध फलफूल तथा मौरी जन्य गतिविधि सञ्चालन गर्नुपर्छ ।

स्थानीय स्तरमा फलफूल तथा मौरी सम्बन्धी योजना तथा कार्यक्रम तय गर्दै परागसेची जीवहरूको प्राकृतिक वासस्थानहरूको संरक्षण तथा पुनर्स्थापनाको प्रयास गर्नुपर्छ । साथै हाल खेती नभएर वा विविध कारण खेर गइरहेका जमिनहरूमा योजनाबद्ध तरिकाले फलफूल रोप्ने जस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकेमा मौरीको संरक्षण र प्रवर्द्धन हुने देखिन्छ ।
उत्पादन, उद्यमशीलता, रोजगारी तथा स्वरोजगारी प्रवर्द्धन गर्दै पर्यावरणको पनि रक्षा गर्न सकिने मौरीपालनलाई प्रोत्साहन गर्नु सबैका लागि हितकारी छ । राज्य, उद्यमी, किसान तथा सरोकारवालाहरूले गम्भीरतासाथ लिनु आवश्यक छ ।
(लेखक अंगाई मौरीपालन विकास केन्द्र, भण्डारा, चितवनका प्रमुख हुन् भने डा. देवकोटा कृषि तथा वन विश्वविद्यालय, रामपुरमा उप–प्राध्यापक छन्)


+ There are no comments
Add yours