०८ मंसिर, काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टेबाजी लगाउने आठ भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई क्रिकेट मैदानपरिसरबाटै मंसिर ६ गते पक्राउ गरेको हुन् । उनीहरू सट्टेबाजी लगाउनका लागि भारतदेखि काठमाडौं आएको प्रहरी अनुसन्धानमा पाइएको छ ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले पाँच लाख रुपैयाँको बाजी लगाइसकेका थिए । उनीहरूले ‘बेटाकुलर डट लाइभ’ साइट स्ट्रिमिङमार्फत बाजी लगाउँदै आएका थिए । सात दिनअघि आएका उनीहरू सामाखुसीस्थित गेस्ट हाउसमा बसेका थिए ।
वेबमार्फत बाजीमा सहभागी सबै भारतीय नागरिक रहेको अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले हालसम्म पाँच लाख रुपैयाँको बाजी लगाइसकेको रहेछन । पक्राउ परेको सबै एकै समूहको रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू टिकट काटेरै मैदानभित्र प्रवेश गर्थे । डाटामार्फत चलाइएको इन्टरनेटमा ‘बेटाकुलर डट लाइभ’ साइट स्ट्रिमिङ गर्थे । क्रिकेटको बाजी लगाउँथे । हारजितको रकम आदान–प्रदान गर्न क्युआरमार्फत भारतीय बैंक प्रयोग गर्थे ।
हालसम्म यसमा नेपाली सहभागी छैनन् र अनुसन्धान भइरहेकाले बाँकी तथ्य खुल्दै जाने प्रहरीले जनाएको छ ।
अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्ने भारत आन्द्र प्रदेश प्रकासम पामुर गाउँका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, भारत आन्द्र प्रदेश प्रकासम कोइलमपटका ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी र २८ वर्षीय सेखचन्द बसल रहेका छन् ।


+ There are no comments
Add yours