पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै

०६ मंसिर, काठमाडाैँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।

सोमपाल र रोहितको प्रतिस्पर्धा

शनिबारको पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान रोहितकुमार पौडेलका टिमको हो । रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने सोमपाल नियमित खेलाडी हुन्।

पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार पहिलो जितको खोजीमा हुनेछ । कर्णालीको प्रतिस्पर्धी टिम लुम्बिनी लायन्सका कप्तान पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत हुन् । पहिलो खेलमा चितवलाई ६ विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । लुम्बिनी लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

दोस्रो खेलमा करण केसी र सन्दीप लामिछानेको भिडन्त

शनिबारको दोस्रो खेलसमेत महत्त्वपूर्ण छ । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको भिडन्त रोचक बन्नेछ । करण काठमाडौंका कप्तान हुन् भने सन्दीपले विराटनगरको कप्तानी गरेका छन् ।

करण नेतृत्वको काठमाडौंले दुई खेल खेलिसक्दा एक हार र एक जित गर्दै दुई अंक मात्र जोडेको छ । पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको छ ।

एक खेल मात्र खेलेको विराटनगरको दुई अंक छ । विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको हो । आजको खेलबाट काठमाण्डु पुनरागमन गर्न चाहन्छ भने विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ ।९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours