पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण

०४ कार्तिक, काठमाडाैँ । ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा अवस्थित पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण गरिएको छ।

एक विदेशी नागरिकसहित पाँच जनाको आरोहण दलले ६,८६८ मिटर अग्लो उक्त हिमालको चुचुरोमा पाइला राखेको हो। आरोहण दलमा चिलीका नागरिक हेनन र सोलुखुम्बुका कुङ्गा ग्याल्जेन शेर्पासहित पाँच सदस्य थिए।

हिमाल आरोहण सफलतापूर्वक सम्पन्न भएपछि टोलीले ३,७९४ मिटर उचाइमा रहेको प्रसिद्ध पाथीभरा मन्दिरको दर्शन गरी कृतज्ञता व्यक्त गरेको छ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार आरोहण दलका सबै सदस्यले पाथीभराको नाम जोडिएको हिमाल चढेपछि मातालाई धन्यवाद दिन मन्दिर दर्शन गरेका हुन्।

सरकारले सन् २०२४–२५ का लागि खुला गरेका ५७ नयाँ हिमालमध्ये पाथीभरा साउथ इष्ट पनि एक हो। ट्रेकिङ एजेन्सी ‘स्नोपल’ का अनुसार कञ्चनजङ्घा हिमशृङ्खलाअन्तर्गत पर्ने यो हिमालको आरोहण अवधि करिब ५० दिनको हुन्छ। यसको क्याराभान रुट घुन्साबाट करिब ८२ किलोमिटर लामो रहेको उल्लेख छ।

आरोहणका लागि वसन्त ऋतुमा विदेशीलाई ४०० अमेरिकी डलर र नेपालीलाई ५ हजार रुपैयाँ रोयल्टी तोकिएको छ। शरद ऋतुमा भने विदेशीका लागि २०० डलर र नेपालीका लागि २,५०० रुपैयाँ शुल्क लाग्नेछ।

यो हिमाल २७.८०८४ डिग्री अक्षांश र ८८.१८८९ डिग्री देशान्तरमा अवस्थित छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours