२७ असोज, काठमाडौं । टीओबी लेखिएको ज्याकेट लगाएर पेस्तोल बोकेका युवकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको भिडिओ भाइरल भएपछि प्रहरीले हिजो पक्राउ गरेको थियो ।
पक्राउ परेका तेन्जिङ दावालाई आज जिल्ला अदालतमा लगेर म्याद थप गरिएको छ । उनी एक संगीतकर्मी हुनुका साथै ट्याटु खोप्ने काममा संलग्न भएको खुलेको छ । उनको साथबाट एक थान पेस्तोल पनि बरामद भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए । उक्त पेस्तोल चालु अवस्थाको हो कि होइन भन्ने प्राविधिक परीक्षण भइरहेको उनको भनाइ छ ।
काठमाडौंको विजुलीबजारमा टीओबी, अर्थात् ‘तिब्बतीयन ओर्जिनल ब्लड’ लेखिएको ज्याकेट लगाएर पेस्तोल बोकेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडिओ कहिलेको हो भन्ने एकिन भएको छैन । भिडिओ जेनजी आन्दोलनको नभएको भनेर चलिरहेको हल्ला नपत्याउन प्रवक्ता भट्टराईले आग्रह गरे ।
उनले भने, ‘काठमाडौं जिल्लाको प्रहरी प्रवक्ता म हो, मैले त्यस्तो भनेको छैन ।’
दावाको नागरिकता, बसोबास र अन्य सम्पर्क तथा सम्बन्धको पाटोमाथि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।
हालसम्मको अनुसन्धानबाट उनी कुनै सामाजिक वा राजनीतिक संघसंस्थामा संलग्न भएको नखुलेको भट्टराईको भनाइ छ ।


+ There are no comments
Add yours