जेलबाटै इमरान खानले गरे सरकार परिवर्तन

२७ असाेज, काठमाडौँ । जेलमा बन्द पाकिस्तान तहरीक इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको निर्देशनमा खैबर पख्तुनख्वा (केपी) मा नेतृत्व परिवर्तन भएको छ। प्रान्तमा बढ्दो आतंकवादको संकट र पार्टीभित्रका नीतिगत मतभेदका कारण सरकार परिवर्तन भएको हो। इमरान खानले जेलबाटै यो निर्णय लिएका थिए। यो परिवर्तन पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल आसिम मुनिरसँग नीतिगत कुरामा खानको टकराव भइरहेको समयमा भएको हो।

मुख्यमन्त्री अली अमीन गण्डापुरले इमरानको निर्देशनमा राजीनामा दिएका थिए। राजीनामा पत्र गभर्नर फैसल करीम कुन्डीलाई हस्तान्तरण गरिएको थियो। तर सुरुमा यसको प्राप्ति र प्रमाणीकरणमा केही अस्पष्टता देखिएको थियो। शनिबार गभर्नरले राजीनामाको प्रमाणिकता पुष्टि गरेका थिए।

खैबर पख्तुनख्वा विधानसभाले पीटीआईका सांसद सोहेल अफ्रिदीलाई नयाँ मुख्यमन्त्रीको रूपमा निर्वाचित गरेको छ। अक्टोबर १३ (आज) को सदन बैठकमा यो निर्वाचन भएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अफ्रिदीले ७३ आवश्यक मतमध्ये ९० भन्दा बढी प्राप्त गरेका छन्। संसदमा पीटीआई ९३ सांसदको बहुमतका कारण सहजै उनी निर्वाचित भएका हुन्। विपक्षी दलहरूले मतदान बहिष्कार गरेका थिए।

इमरान खानले प्रान्तमा बढ्दो आतंकवादविरुद्धको सैन्य कारबाहीमा राजनीतिक रणनीतिको अभाव भएको भन्दै सेनाको आलोचना गर्दै आएका छन्। केही दिनअघि अफगानिस्तानको सीमावर्ती क्षेत्रमा भएको हवाई कारबाहीले दुई देशबीच तनाव निम्त्याएको थियो। यो घटनाले केपीको सुरक्षा संकटलाई थप जटिल बनाएको छ।

गभर्नर फैसल करीम कुन्डीले राजीनामाको प्रामाणिकता प्रमाणित गर्न आवश्यक कदम चालेका थिए। यो मुद्दा पाकिस्तानको संविधानअनुसार समाधान भइरहेको छ, र गभर्नरले यसलाई राजनीतिकरण नगर्ने बताएका छन्। मुख्यमन्त्री निर्वाचनका लागि चार उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए।

पीटीआईका सोहेल अफ्रिदी, जमियत उलमा-ए-इस्लाम फजल (जेयुआइ-एफ) का मोलाना लुत्फुर रहमान, पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सरदार शाहजहाँ युसुफ र पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अरबाब जरक खान रहेका थिए। केपी विधानसभामा कुल १४५ सदस्य छन्, जसमध्ये सत्तारुढ पीटीआईसँग ९३ मत हुँदा विपक्षीहरूको संख्या ५१ रहेको छ। एजेन्सी

You May Also Like

More From Author

+ There are no comments

Add yours