०७ असाेज, काठमाडौँ । सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि खारेज भएपछि लगानीकर्ताहरू उत्साहित भएका छन् ।
यो साताको दुई दिनमै लगानीकर्ताले सेयर बजारबाट २ खर्ब ८४ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ कमाएका छन् ।
यो साताको दुई दिनमै लगानीकर्ताले सेयर बजारबाट २ खर्ब ८४ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ कमाएका छन् । यस्तै नेप्से परिसुचकमा पनि १७०.३४ अंकले बढेको छ । मंगलबार सेयर बजार परिसुचक नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेको छ । आइतबार नेप्से १११.९ अंकले बढेको थियो । गत बिहीबार नेप्से १६०.३३ अंकले घटेर २५११.९१ अंकमा पुगेको थियो ।
जेनजी आन्दोलनपछि गत बिहीबार खुलेको सेयर बजारमा एकैपटक नेप्से १६०.३३ अंकले घटेपछि निराश लगानीकर्ताको मनोबल फर्काउनका लागि अर्थमन्त्री रामेश्वर खनालले कार्यदल नै बनाएर सेयर बजार सुधारको सन्देश दिए ।
गत शुक्रबार नै उनले लगानीकर्ताले विगतदेखि नै संशोधन गर्न माग गर्दै आएको नेप्सेको अन्तिम मूल्य गणना विधिमा परिमार्जन गरेर सहज बनाइदिए । जसको कार्यान्वयन मंगलबारदेखि भइसकेको छ । यसले पनि लगानीकर्तामा मनोबल बढाउन भूमिका खेलेको र बजार बढेको जानकार बताउँछन् । लगानीकर्ताहरूले पनि सेयर बजारप्रति अन्तरिम सरकार सकारात्मक रहेको सन्देश प्रवाह भएपछि मनोबल बढेको बताएका छन् ।
मंगलबार कुल बजार पूँजीकरण ४४ खर्ब ८४ अर्ब १ करोड ३८ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । आइतबार कुल बजार पूँजीकरण ४३ खर्ब ८५ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ कायम भएको थियो । गत साताको कारोबारको अन्तिम दिन ४१ खर्ब ९९ अर्ब २५ करोड ६४ लाख रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार कारोबारमा आएका ३२८ कम्पनीमध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ६७ हजार ३८२ पटकको कारोबार १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयरहरु ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँमा किनबेच भएका छन् ।
मंगलबार सबै समूहको सेयर मूल्य बढेकोमा निर्जीवन बीमा समूह ३.४८ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूह ३.३, विकास बैंक समूह २.९५, होटल तथा पर्यटन समूह २.७८, लघुवित्त समूह २.५४ र अन्य समूह २.५१ प्रतिशतले बढेको छ ।
गत वर्षको चैत ७ गतेदेखि लागु हुने गरेर नेप्से अन्तिम १५ मिनेटको बजार कारोबारलाई आधारित मानेर भारित औसत गणना गर्ने निर्णय गरेको थियो । जसले गर्दा बजार बिगारेको भनेर लगानीकर्ताले विरोध गरेका थिए ।
साउन १२ गते बजार बन्द भएपछि भारित औसत मूल्य गणनापछि नेप्से २ अंक घटेको देखियो । जबकि भारित औसत मूल्य गणनाअघि १० अंक बढेको थियो । पछि नेप्सेले क्षमायाचना सहित अंक सच्याएकोमा अन्ततः नेप्सेमा ७ अंकको सुधार आएको थियो ।


+ There are no comments
Add yours