जेनजी आन्दोलनको महँगो बिल : २० अर्बभन्दा बढीको बीमा दाबी, अब के हुन्छ ?

०४ असोज, काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ । आन्दोलनले सरकारी तथा निजी दुवै प्रकारका संरचनामा ठूलो क्षति पुर्‍याएको थियो ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा यी दाबीहरू परेका छन् । प्राधिकरणको तथ्यांकअनुसार, सबैभन्दा धेरै दाबी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ, जहाँ ४० वटा दाबीबाट कुल ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ माग भएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ वटा दाबीबाट ४ अर्ब ९३ करोड २२ लाख ७९ हजार ५०० रुपैयाँको क्षतिपूर्ति माग गरिएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा ३६६ वटा दाबी परेका छन्, जसको कुल रकम २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रुपैयाँ छ ।

अन्य प्रमुख दाबीकर्ता कम्पनीहरूमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख ८० हजार ८०० रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा १ अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १ अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ रुपैयाँ र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख ६५ हजार २०७ रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनायो ।

साना कम्पनीहरूमा पनि क्षति भएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा १ करोड १३ लाख २२ हजार ८०० रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा ६७ लाख ७ हजार ६५० रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा ५६ लाख ३६ हजार रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ । संघले बीमा गरिएका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेको छ ।

संघले जारी गरेको विज्ञप्तिमा वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको र बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको उल्लेख छ । बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी, क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया छिट्टै टुंग्याउने संघले स्पष्ट पारेको छ ।

संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात चाँडो बीमा कम्पनीमा बुझाई दाबी प्रक्रिया सहज बनाउन अपिल गरे । उनले बीमा कम्पनीहरूले पनि दाबी भुक्तानी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको बताए ।

२०७२ सालको भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बीमा कम्पनीको सक्रियता सकारात्मक र आशाजनक देखिएको उनले बताए । संघले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै, राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गरेको छ । यस संकटको समयमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वानसमेत गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours