देशभरका पालिकामा स्थानीय युवा परिषद् गठन गर्न अनुरोध गर्ने

१८ भाद्र, काठमाडौं । नेपाल सरकर अन्तर्गत राष्ट्रिय युवा परिषदको अठारौं बोर्ड बैठक सबै प्रदेशमा प्रदेश युवा परिषद् र सबै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न अनुरोध र समन्वय गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

यसका लागि परिषदले सम्बन्धित प्रदेश सरकार, नेपाल नगरपालिका संघ, गाउंपालिका राष्ट्रिय महासंघ, नेपालसँग अनुरोध र समन्वय गर्ने निर्णय गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले ‘जहाँ जहाँ कार्यकारी सरकार, त्यहाँ त्यहाँ युवा परिषद्’ भन्ने मान्यता अनुरुप युवाको सर्वाङ्गीण विकासका लागि सो पहलकदमी गर्न खोजिएको बताए ।

बुधबार परिषद्का अध्यक्ष समेत रहने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा परिषद कार्यालय सानोठिमीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयन समीक्षा गर्दै चालु आर्थिक वर्ष ८२/०८३ को कार्यक्रम कार्यान्वयन पुस्तिका समेत स्विकृत गरेको छ ।

अहिलेसम्म सातप्रदेश मध्ये बागमती, सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा प्रदेश युवा परिषद् गठन भइसकेको र अन्य प्रदेशमा प्रदेश युवा नीति निर्माण गर्ने तयारी भइरहेको बस्नेतले जानकारी दिए ।

त्यस्तै, अहिलेसम्म ३१ वटा स्थानीय तहमा कानुन निर्माण भइ स्थानीय युवा परिषद् गठन भएको उनले बताए ।

परिषद वैठकमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्ववावु पुडासैनी, गाउंपालिका राष्ट्रिय महासंघ, नेपालका महासचिव खिमबहादुर थापा सहित परिषद सदस्यहरूको सहभागिता रहेको परिषदकका सदस्य सचिव गेहनाथ गौतमले जनाए ।

उनले मन्त्रिपरिषद्बाट स्वीकृत नयाँ राष्ट्रिय युवा नीति –२०८२ चाँडै एक समारोहका विच सार्वजनिक गर्ने समेत जनाए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours