बहुविवाहसम्बन्धी कानुन कुनै हालतमा आउँदैन : प्रधानमन्त्री ओली

०१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानुन सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन् ।

मुलुकी संहिता दिवसको अवसरमा सिंहदरबारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले यसबारेमा धेरै हल्ला फिँजाइएको बताए ।

‘एउटा नचाहिँदो हल्ला धुमधाम चलेको छ । त्यसबारे मैले संसदमा पनि भनेँ । बहुविवाह गर्न स्वीकृति दिने भए । सरकारले स्वीकृति दिने भयो, संसदमा ल्याउने भए, पास हुने भयो भनेर हल्ला गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘बहुबिवाहलाई मान्यता आजको समाजले दिन्छ भन्नेकुरा नै सोच्न सक्ने कुरै होइन ।’

प्रतिगमनकारी कानुन सरकारले नल्याउने प्रतिवद्धता जनाउँदै उनले बहुविवाहलाई मान्यता दिनेकुरा आजको समाजले स्वीकार गर्न नसक्नेमा स्पष्ट हुन आग्रह गरे ।

‘एक जना अभियन्ता आउनुभयो मसँग कुरा गर्न । बढो चर्को स्वरमा भन्नुभयो । हेर्नुस्, बहुविवाह हामी कुनै हालतमा मान्दैनौँ भन्नुभयो । कसले गर्न लागेछ ? भनेँ । कानुन बनाउन लागिएको छ, कसले बनाउन लागेको छ, मलाई त थाहा हुनुपर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘क्याबिनेटले पास गरेर संसदमा पठाउने हो विधेयक, कहाँबाट आयो भनेँ । यो भइसक्यो, आइसकेको छ । कुनै हालतमा मान्दैनौँ भन्नुभयो । मैले भने यस्तो कुनै हालतमा हुँदैन भने । यस्तो हल्लाका पछि नलाग्नुस् ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours