२० साउन, काठमाडौं । बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण राम्रो आउने संकेत देखिएको छ । यो पटक कर्जा रिकभरीमा सुधार भएकाले लोन लस प्रोभिजन फिर्ता भई नाफामा सकारात्मक प्रभाव पर्न जानेछ ।
‘धेरै साथीहरुको यो पटक कर्जा रिकभरीमा सुधार भएको बताएका छन्’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ‘यसको प्रभावले केहीबाहेक धेरैजसोको चाैथो त्रैमासिक वित्तीय विवरण राम्रो आउनेछ ।’
वाणिज्य बैंकमध्ये सबैभन्दा पहिले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको माछापुच्छ्रे बैंकले पनि सोही संकेत देखाएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा ९२ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ४ करोड थियो ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) उच्च दरले घटेपछि नाफामा उल्लेख्य वृद्धि देखिएको हो । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३९ करोड रहेकोमा अहिले ३५ करोड ३७ लाख रुपैयाँ छ ।
यसका साथै बैंकको खुद ब्याज आम्दानी १५ प्रतिशत बढेको छ । पहिले खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोड रहेकोमा अहिले ५ अर्ब ७५ करोड छ । बैंकको नाफासँगै वार्षिक प्रतिसेयर आम्दानी पनि करिब दोब्बर भएको छ । पहिले यस्तो आम्दानी ८ रुपैयाँ ९९ पैसा रहेकोमा अहिले १७ रुपैयाँ ३१ पैसा छ ।
१ अर्ब ७ करोड रुपैयाँ वितरणयोग्य नाफा छ । प्रतिसेयर ९ रुपैयाँ २३ पैसा वितरणयोग्य नाफा हो । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा छ । कुल कर्जामा निष्क्रिय कर्जा ३.८३ प्रतिशत छ, पहिले ३.८६ प्रतिशत थियो । आधार दर एक वर्षमा ८.२६ प्रतिशतबाट ६.३० मा झरेको छ ।


+ There are no comments
Add yours