प्रथम बीमाशुल्क अतिरिक्त नवीकरण र म्यादी बीमाको पनि लक्ष्य निर्धारण गर्न बीमकलाई निर्देशन

३० असार, काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रथम बीमाशुल्कको अतिरिक्त नवीकरण र म्यादी जीवन बीमाको पनि लक्ष्य निर्धारण गर्न बीमकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणको असार २७ गतेको निर्णय अनुसार प्राधिकरणले बीमकहरुलाई यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणको निर्देशन अनुसार बीमकले आगामी आर्थिक वर्षको लागि आफना मातहतका कर्मचारी, उपशाखा, शाखा, प्रादेशिक कार्यालय र विभागहरूलाई व्यवसायीक लक्ष्य निर्धारण गर्दा नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्नुपर्नेछ ।

बीमा कम्पनीहरूले व्यवसाय बढाउनका लागि प्रत्येक वर्ष कर्मचारी, उपशाखा, शाखा, प्रादेशिक कार्यालय र विभागहरूलाई व्यवसायीक लक्ष्य दिएको छ । तर, कम्पनीहरूले प्रथम बीमाशुल्कको मात्रै लक्ष्य दिदै आएका छन् । फलस्वरुप प्रथम बीमाशुल्कको तुलनामा नवीकरणीय बीमाशुल्क कम संकलन हुने गरेको प्राधिकरणले जनाएको छ ।

कम्पनीहरुले पहिलो व्यवसाय मात्रै खोज्ने तर, भै रहेको व्यवसायलाई फलोअप नगर्दा पोलिसी नवीकरण हुने क्रम घटेको प्राधिकरणले जनाएको छ । यस्तै कम्पनीहरुले म्यादी जीवन बीमालाई पनि प्राथमिकतामा राखेको नपाइए पछि प्राधिकरणले यस्तो निर्देशन दिएको प्राधिकरणका निर्देशक शाम्बाराज लामिछानेले बताए । ‘अब कम्पनीहरुले सबै खालको पोलिसीलाई लक्षित गरी व्यवसाय लक्ष्य निर्धारण गर्नुपर्छ । यसले पोलिसी नवीकरण हुने र म्यादी जीवन बीमाको पनि पहुँच विस्तार हुनेछ,’ उनले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours