१८ असार, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नती पछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूको लागि विश्व समुदायसँग आग्रह गरेका छन् ।
मंगलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित “सशक्तिकरणका लागि लचिलोपनः दिगो एलडीसी स्तरोन्नतीका लागि जलवायु–स्मार्ट वित्तीयकरण” कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हु्न ।
अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नती हुने विषय नेपालका लागि उपलब्धिसंगै चुनौतीपूर्ण रहेको पनि बताए । उनले नेपालको एलडीसी स्तरोन्नती लागि तीन मापदण्डमध्ये दुई पूरा भएको भए पनि प्रति व्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे । “नेपालमा धरै अवसरहरू छन् । देशको ४० हजार मेगावाटभन्दा बढीको जलविद्युत सम्भावना छ । विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यका रुपमा नेपाल परिचित छ । डिजिटल तथा सूचना प्रविधि सेवाहरूमा युवाहरुको सहभागिता बढ्दो छ । तर यो सम्भावनालाई वास्तविकतामा परिणत गर्न बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता छ ।” उनले भने ।
नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्वसमुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरे । “सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ । जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो । उनले भने, साथै, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेपालले प्रत्येक वर्ष जीडीपीको करिब ११ प्रतिशतको वित्तीय अन्तरको सामना गरिरहेको छ ।”
उनले नेपालको कर राजस्व कुल ग्राहस्थ उत्पादनको (जीडीपी) को २० प्रतिशतबाट १६ प्रतिशतमा झरेको तथा हरित र दिगो क्षेत्रमा निजी क्षेत्रको लगानी अझै प्रारम्भिक चरणमा रहको उल्लेख गर्दै नेपालको लागि विकास साझेदार, क्षेत्रीय समकक्षी र दीर्घकालीन लगानीकर्ताहरूको सहयोग आवश्यक रहेको बताए ।


+ There are no comments
Add yours