१५ असार, काठमाडौँ । पल्लाघरे हजुरबा तन्नेरी हुँदा बाउसे गर्ने भनेपछि जुरुक्क हुन्थे, त्यसैले बुढो हुँदा पनि गाउँमा उनको नामै बाउसे बा हुन गयो । बाको २० मुरी धान फल्ने खेत अझै बाँकी छ । २० मुरी धान फल्ने भएकाले खेतको नाम बीसमुरे भयो । बीसमुरे खेतको नजिकै छ बाउसे बाको घर । तर गाउँका बाउसे बा र बीसमुरे मात्र बाँकी छन्, घर रित्तै छ । गाउँका अरू बुढाखाडाको जस्तै छोराबुहारी नातिनातिना कोही शहरमा छन्, कोही विदेशमा । शहरमा बाउआमासँगै बसेर स्कुल पढ्ने सानो नाति बिदामा घर आएको छ । मोबाइल चलाउँदै गरेको नातिले भन्यो– ‘हजुरबा, आज १५ असार रे हो ?’
‘हो बाबु हो ?’
‘खै त दही चिउरा ?’
‘ल ल अहिले हजुरआमाले दिइहाल्छे नि । अनि तँलाई दही चिउरा खाने दिन भनेर कसरी थाहा भएको नि ?’
‘यी के त यहाँ मोबाइलमा । दहीचिउरासँगै केरा, आँप, रसबरी, मिठाइ अनि कोल्ड ड्रिङ्क्स पनि खाने हो ?’
दहीचिउरासँग केरा र आँप त खाएको हो । मिठाइ र ड्रिङ्क्सको कुरा कहाँबाट मिसियो ! हजुरबा आश्चर्यमा परे ।
खै खै भन्दै बाउसे हजुरबाले नातिको मोबाइलमा फेसबुकका तस्वीर अनि टिकटक र रिलका भिडियो पालैसँग हेर्न थाले ।
टलक्क टल्केको प्लेटमा दही, चिउरा, आँपको चाना, केराको कोसा, अनि मुखै रसाउने मिठाई । सुकिलामुकिला लुगामा सजिएका एकथरी मान्छे सोफामा अढेस लगाएर दही चिउरा हुसुर्दै गरेका । अर्काथरी पाइन्ट स्याहार्दै हिलोमा पसेजस्तो गरेर रमाइरहेका । खेत रोप्न भन्दा जिस्किने र रमाइलो गर्ने मौका पर्खिएर बसेकाहरू हिलोमा दौडिँदै, लडिबुडी गर्दै, मोबाइलमा फोटो र भिडियो खिच्दै नाच्दै उफ्रिरहेका । धान फल्ने खेत मासेर घर ठड्याउनेहरू छतमा बसेर दहीचिउरासँग सेल्फी खिच्दै गरेका । कोही गमलामा चार त्यान्द्रा बेर्ना रोपेर मसक्क मस्कँदै गरेका । यता २० मुरी धान फल्ने खेत बाँझै छ, उता २० बित्ताको जग्गामा हिलो खेलेर रमाइलो गरिरहेका छन् । खेतमा धान रोप्ने खेताला पाउन मुश्किल छ, फेसबुकमा चाहिँ रोपाइँ गर्नेहरूको ताँती ।
आफ्नो पालाको १५ असार अब अल्लारे भएछ भन्दै बाउसे बा खेततिर हिँडे । खेतमाथिको ढुङ्गोमा टुक्रुक्क बसे । बीसमुरेमा बीसौं वर्षअघि २० मुरी धान भित्र्याउने चुरीफुरी र तागत अहिले छैन । उ बेला यतिखेरसम्म हिलोआली सकेर रोपाइँका लागि ठिकठाक भैसक्ने खेत केही वर्षदेखि बाँझै छ । काम गर्ने उमेरका छोराबुहारी, नातिनातिना घर छाडेर हिडे । केही वर्षअघिसम्म गाउँकै अर्को मान्छेले अँधियामा धान रोपेको थियो । फलेको आधी दिन्थ्यो । बुढाबुढीलाई मज्जाले पुग्थ्यो । अहिले त अँधिया गर्नेले पनि खेती गर्न छोडे । खेतको धानमा भन्दा अरू नै काममा धेरै कमाइ हुन्छ रे । भारोपर्म गर्न पनि सकिँदैन । शहरमा बस्ने छोराबुहारी बेलाबेला धान, चामल छ त भनेर सोध्छन्, तर रोपाइँ गर्न आउँ भनेर सोध्दैनन् । काम नगर्नुस् चाहिँ भनी टोपल्छन् । काम गर भने पनि कसले गर्न सक्छ र ?
काम गर्ने तागत भएको भए खेतको हालत यस्तो हुन्थ्यो र ! अहिलेसम्म हिलोआली सकेर रोप्न ठिक्क भैसक्थ्यो । यतापट्टि बीउ उखेल्दै गरेका ब्याडे । उतापट्टि चार हलगोरु साउँदै गरेका हली । पछिल्तिर बाउसे र रोपार । कुलोबाट खेतमा छङछङ गर्दै बगेको पानी । बाउसे र रोपारको हाँसीमजाक, अनि हिलो छ्यापाछ्याप । सिमसिम परिरहेको पानीमा असारे गीतको भाका । असारे भाका सुन्दै र हिलोमा लड्दै ब्याडेले उखेलेको बीउ ओसार्नुको बेग्लै मज्जा । चट्ट मिलाएर तासेको आली कान्ला । बाउसेले सम्याएको छिपछिपे हिलोमा रोपाइँ सकेपछि यही ठूलो ढुङ्गामाथि बसेर दही चिउरा खाइन्थ्यो । ठेकीको बाक्लो दही, आफैँले ढिँकीमा कुटेको धानको चिउरा, अनि आफ्नै बारीको मालभोग केरा । अलिअलि हिलोको सुगन्ध आइरहेको हातले टपरीमा मुछेर खानुको स्वाद । बाउसे बाले घुटुक्क थुक निले र खुइय सुस्केरा हाल्दै घरतिर फर्किए ।
घर फर्किंदा नाति आँगन छेउको धाराको डिलमा मोबाइल राखेर झार उखेल्दै हिलोमा उफ्रँदै रहेछ ।
‘हो बाबु, अब त्यो झारलाई हिलोमा गाडेर एउटा सेल्फी खिचेर पठाउ त, म यहाँ टिकटकमा राख्छु’ उताबाट आमाले छोरालाई सिकाउँदै थिइन् ।


+ There are no comments
Add yours