०७ असार, काठमाडौँ । ललितपुरको ग्वार्कोमा शुक्रबार धुमधामसँग ओभरपासको उद्घाटन गरियो । एउटा ओभरपास उद्घाटन गर्न ग्वार्को पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘देश दुर्गमबाट सुगममा परिणत गरिसक्यौँ । हामीले बहुआयामिक ढंगले चौतर्फी रूपमा देशको विकास गरिरहेका छौँ ।’ पछिल्लो कालखण्डमा देशमा विकास नभएको होइन, गाउँगाउँमा सडक पुगेका छन् तर, विकास निर्माणका काम समयमै नसकिँदा जनताले पाएको सास्ती पनि उस्तै बढेको छ । ग्वार्कोमा ओभरपास उद्घाटन भइरहँदा नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा तीन दिनदेखि सवारीसाधन र यात्रु अड्किएका थिए । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा सयौँ सवारी र हजारौँ यात्रुले एक सातादेखि ठूलो दुःख पाएका छन् । बिहीबार राति विनयी खोलामै झण्डै ४० जना यात्रु मृत्युको मुखबाट सकुशल फर्किए । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि जेसिभी लगाएर यात्रुको उद्धार गरिएको थियो ।
सडकखण्डमा विगत पाँच दिनदेखि मालवाहक सवारीसाधन बीच बाटोमा रोकिएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्ने पहाडमा रोकिएका छन् । देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व-पश्चिम राजमार्ग बर्खाको सुरुवातमै अस्तव्यस्त छ । निर्माणको लागि भत्काइएको सडक हिलाम्य भएपछि सवारीसाधन चलाउनै सकिएको छैन ।
समयमै काम भएको भए तीन वर्षअघि नै नारायणगढ-बुटवल सडकखण्ड चिल्लो भई यात्रा सहज हुन्थ्योे तर, कछुवा गतिमा काम हुँदा अहिले पनि यो खण्डको यात्रा कष्टपूर्ण छ । विसं २०७५ साल चैतमा सुरु गरेर झण्डै साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको उक्त परियोजना सकिने समय अझै अनिश्चित देखिन्छ । सडक विस्तारका क्रममा भत्काइएका संरचना पुनर्निर्माण नहुँदा यात्रु ६ वर्षदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सम्झौताअनुसार २०७९ सालको साउन महिनाभित्रै काम सम्पन्न भइसक्नु पर्ने यस सडकको काम यसअघि नै थप एक वर्ष लम्ब्याउने गरी २०८२ साउनसम्मका लागि म्याद थपिएको थियो । तर, त्यही समयमा पनि काम सकिने टुंगो छैन । एसियाली मापदण्डको राजमार्ग बनाउने गरी १७ अर्ब रुपैयाँको यस काममा सुरुदेखि नै समस्या देखापरेको थियो ।
सरकारले यो सडक खण्डको ठेक्का म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक थप गरिसकेको छ । तेस्रोपटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नु पर्छ तर, अहिलेसम्म सकिने संकेत देखिएको छैन । तेस्रो पटकका लागि थपिएको समयपभित्र काम नसकिने भन्दै निर्माण कम्पनीले सरकारसँग फेरि समय थप्न अनुरोध गरेको छ ।
देशैभरका ठूला राजमार्गमा उस्तै समस्या
तोकिएको समयमै काम नसकिएर यात्रुले सास्ती खेप्नुपरेको नारायणगढ-बुटवल एक मात्रै सडक होइन, देशभर यस्ता दर्जनौँ सडकको काम समयमै नसकिँदा यात्रुले सास्ती भोगिरहनु परेको छ । राष्ट्रिय गौरवका मात्र होइन देशैभर ठूला राजमार्ग र सहायक राजमार्गमा समेत समयमै काम पूरा नहुने समस्या देखिएको छ । पटक-पटक म्याद थप गरे पनि कामको प्रगति सुस्त छ ।
आँबुखैरेनी-पोखरा सडकको अवस्था पनि उस्तै छ । मुग्लिङ-आँबुखैरेनी (पूर्वी) खण्डको नौ किमीमा अझै ठेक्का हुन सकेको छैन । आँबुखैरेनी-जामुनेको सुरु म्याद ०८१ वैशाखसम्म थियो । तर, अझै काम सकिएको छैन ।
सवारी चाप हुने कमला-कञ्चनपुर सडक सडकखण्डको स्तरोन्नति गर्ने भन्दै ०७७ कात्तिक १३ मा ठेक्का भएको थियो । सम्झौताअनुसार निर्माण कार्य ०८० कात्तिक ११ भित्र सक्नुपर्ने भए पनि अझै काम सकिएको छैन ।
नागढुंगा-मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइए पनि निर्माणको गति सुस्त छ । यो सडक खण्डमा साना-ठूला गरी दैनिक १५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । यो खण्डको स्तरोन्नति विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिएर थालिएको हो । २०७८ चैत २९ मा उक्त खण्डको निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २०७९ जेठ २६ मा मात्र सुरु भएको थियो ।
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार भइरहे पनि निर्माण प्रगति भने सन्तोषजनक छैन । काठमाडौं तराई÷मधेस दु्रतमार्ग (फास्ट ट्र्र्याक) निर्माण सुरु भएको सात वर्ष भयो । अहिलेसम्म ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमीमा मात्र ठेक्का भएको छ । ललितपुरस्थित खोकना क्षेत्रको ६.५ किमीमा काम सुरु नै हुन सकेको छैन, जसकारण थपिएको समयमा पनि फास्ट ट्र्याकको निर्माण नसकिने निश्चितप्रायः छ । यो सडक समयमै निर्माण भए एक घण्टामा बाराको निजगढ पुगिनेछ । अहिले राष्ट्रिय गौरवका सडक आयोजना मध्यपहाडी राजमार्ग, मदनभण्डारी राजमार्ग, हुलाकी राजमार्ग, कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोर निर्माणाधीन छन् । तर, यी आयोजनामा कतै निर्माण व्यवसायीका कारण त कतै बजेट अभावमा कामको प्रगति बढ्न सकेको छैन ।
दुम्कीबास खण्ड राति पूर्णरूपमा बन्द हुने
नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा अब डाइभर्सन निर्माण नगरिने भएको छ । गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । उहाँका अनुसार जेठको अन्तिम हप्तादेखि लगातार वर्षा भई रहेकाले पटक-पटक डाइभर्सन बगाउने समस्या बढेपछि अब डाइभर्सन नबनाउने निर्णय गरिएको हो । अब नयाँ पुल बनेपछि मात्रै यातायात सञ्चालन गरिने उहाँले बताउनुभयो । दुम्कीवासको पुल असार १६ गतेदेखि सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ ।
सडकखण्डअन्तर्गत दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ । तर, मालवाहक सवारीसाधन पूर्णरूपमा रोकिएको छ । वर्षा सुरु भएसँगै दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारी गुड्न नसकेकाले त्यो क्षेत्रमा पनि अवरोध कायम रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार हालसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको छ । सडक निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटरको बाटो वर्षाको समयमा हिलाम्मे हुँदै कष्टकर बन्दै आएको छ । दुम्कीवास खण्डमा दुर्घटनाको जोखिम बढेकाले शनिबारदेखि साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सडक पूर्णरूपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।

बिपी राजमार्गमा १५ दिन राति यात्रुवाहक सवारी चलाउन रोक
बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारीसाधन चलाउन रोक लगाइएको छ । काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको बैठकले १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो । बाढी र पहिरोको सम्भावित जोखिमका कारण शनिबारदेखि पहिलो चरणमा साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रु गाडी चलाउन रोक लगाउने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड जोखिमयुक्त भएकाले सार्वजनिक तथा निजी यात्रुवाहक गाडी सञ्चालन रोकिएको हो । सुरक्षा निकायले सहकार्य र समन्वयमार्फत यात्रुलाई सुरक्षित यात्रा गराउन सबै आवश्यक उपाय अपनाइने जनाएको छ ।
अब तीन महिना कुनै पनि सडक खन्न नपाइने
सरकारले आगामी भदौ मसान्तसम्म कुनै पनि वहानामा सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सूचना जारी गर्दै भदौ मसान्तसम्म धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो । वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने भन्दै कार्यालयले मातहतका सडक डिभिजनहरूलाई कुनै पनि सडक खन्ने स्वीकृति नदिन भनेको हो ।
‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले मिति २०८२ साल असार ३ गतेदेखि २०८२ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहतमा रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने’ सार्वजनिक सूचनामा भनिएको छ । कसैले जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ ।
यसैगरी, मनसुनबाट हुने विपत्तिका घटनाबाट सडकमा हुने अवरोध हटाउन सबै तयारी गरिएको सरकारको दाबी छ । जहाँ जतिबेला जे पर्छ तत्कालै त्यहीअनुसार रेस्पोन्स गर्नेगरी तयारी गरिएको सडक विभागका उप-महानिर्देशक प्रभात कुमार झाले बताउनुभयो । हरेक राजमार्गको अवरोध हटाउन देशभर २५० इक्युमेन्ट तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।


+ There are no comments
Add yours