दुर्घटनाभन्दा तीन महिनाअघि फेरिएको थियो एयर इन्डियाको दाँया इन्जिन

०५ असार, बीबीसी । गत साता अहमदाबादमा दुर्घटनामा परेको एयर इन्डियाको विमानबारे नयाँ तथ्य सार्वजनिक भएको छ।

एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनका अनुसार गत साता दुर्घटनामा परेको फ्लाइट एआई १७१ को दायाँ इन्जिन मार्च २०२५ मा मात्र नयाँ राखिएको थियो । त्यस्तै बायाँ इन्जिन सन् २०२३ मा मर्मत गरिएको र आगामी डिसेम्बर २०२५ मा अर्को मर्मत गर्ने तालिकामा रहेको उनले बताएका छन्।

भारतीय टेलिभिजन च्यानल टाइम्स नाउसँगको अन्तर्वार्तामा चन्द्रशेखरनले भने, ‘दायाँ इन्जिन नयाँ हो र बायाँ इन्जिनको मर्मत कार्य तोकिएको समयमा हुने थियो। दुवै इन्जिनको इतिहास सफा छ।’

लन्डनतर्फ जानका लागि प्रस्थान गरेको एक मिनेटभित्रै विमान दुर्घटनाग्रस्त भएको थियो। अहमदाबाद विमानस्थलबाट उडेको उक्त बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा सवार रहेका एकजनाबाहेक सबै यात्रुको ज्यान गएको थियो भने जमिनमा रहेका केही मानिसहरू पनि दुर्घटनाको सिकार बनेका थिए ।

हाल दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। विमानको ब्ल्याक बक्स भेटिइसकेको छ र त्यसबाट प्राप्त उडान तथ्यांक तथा ककपिट अडियो डेटा विश्लेषण भइरहेको छ। चन्द्रशेखरनले ब्ल्याक बक्सले साँचो जानकारी दिने भन्दै अनुमानमा आधारित चर्चा नगर्न सबैलाई आग्रह गरेका छन्।

विमान दुर्घटना अनुसन्धान ब्युरोका पूर्व अनुसन्धानकर्ता किशोर चिन्ताले बीबीसीसँगको कुराकानीमा इन्जिनको उमेरले त्यसको अवस्था निर्धारण नगर्ने बताए । जेन एक्स- वान बी इन्जिनहरूमा विशेष प्रणाली (फुल अथोरिटी डिजिटल इन्जिन कन्ट्रोल) प्रयोग हुन्छ, जसले इन्जिनको स्वास्थ्य निरन्तर अनुगमन गर्छ र मर्मतको आवश्यकता डिजिटल तथ्यांक र निरीक्षणबाट तय गरिन्छ।

वास्तविक कारण पत्ता लाग्न केही समय लाग्ने भए पनि ब्ल्याक बक्सका तथ्यहरूले दुर्घटनाको अन्तिम क्षणमा के भयो भन्ने कुरा प्रस्ट पार्ने अपेक्षा गरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours