वैदेशिक रोजगार ऐन आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी

०४ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम सुरु गरेको बताउनुभएको छ ।

बिहीबार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्नेगरी ऐन संशोधनको काम थालनी भएको बताउनुभएको हो ।
उहाँले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरु रहेका कारण समयसापेक्ष सुधार गर्नका लागि ऐन संशोधन गर्न थालिएको जानकारी दिनुभयो । आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलको छलफल सुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आजैदेखि वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलको छलफल सुरु गरेका छौं । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पनि त्यस कार्यदलको सदस्य भएको हुनाले यो काममा यस समितिको सुझाव पनि आउने नै छ । वैदेशिक रोजगारमा धेरै समस्याहरु देखिएको हुनाले ऐनको समयसापेक्ष सुधार आवश्यक छ । संसदको आउँदो अधिवेशनमा संशोधनका लागि ऐन पेश गर्नेगरी तयारी गरिरहेका छौं ।’’

वैदेशिक रोजगार व्यवसायीहरुले पनि इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह छ । वैदेशिक रोजगार व्यवसायी संघ सरकारको अङ्ग भएको उल्लेख गर्नुहुँदै उहाँले सरकारले व्यवसाय गर्ने नभई सहजिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने नागरिकले व्यवसायीका कारण समेत दुःख पाइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘श्रम मन्त्रालय व्यवसायी र श्रमिकहरु संस्थागत सङ्गठनको शक्ति हो । त्यो नाताले तपाईंहरुले पनि इमानदारिपूर्वक आआफ्नो व्यवसायलाई अगाडि बढाउन सक्नुभयो भने सजिलो हुन्छ । सरकारले व्यवसाय गर्ने होइन सरकारले व्यवसायलाई सहजिकरण गर्ने हो । राजश्व आएर सरकार सञ्चालन हुन पाओस् र जनताले सुविधा पनि पाउन् । यो क्षेत्रमा उठेका तीन वटा कुरा मैले बारम्बार भन्ने गरेको छु ।’’

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने कुरामा समेत आवश्यक कामहरु भइरहेको मन्त्री भण्डारीको दाबी छ । उहाँले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours