१२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) छापिइरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ ।
केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ‘डेटा’का आधारमा लाइसेन्स छापिरहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए ।
तत् कार्यालयबाट इमेलबाट प्राप्त छपाइ आग्रहअनुसार लाइसेन्स छाप्ने गरिएको छ । छपाइ परिमाणका आधारमा भुक्तानी पनि स्वयं कार्यालयबाट भइरहेको तिमिल्सिनाको भनाइ छ ।
क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइ सुरु गरेदेखि असार मसान्तसम्मको अवधिमा २७ लाख ४७ हजारथान छापेर सम्बन्धित कार्यालयमा पठाइएको तिमिल्सिनाले जानकारी दिए । विभाग र केन्द्रबीच यस वर्ष वैशाख ४ गते क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि सोही गुणस्तरको काम सुरु गरिएको हो ।
तिमिल्सिनाका अनुसार, विभागसँगको पहिलो चरणको सम्झौताअनुसार १२ लाखथान लाइसेन्स छपाइ गरिएको थियो । त्यसपछि असार मसान्तसम्ममा थप १५ लाख ४७ हजार लाइसेन्स छापिएको थियो । “केही संख्यामा ब्याकलग लाइसेन्स पनि सँगसँगै छपाइ हुने गर्दछ,” तिमल्सिनाले भने ।

केन्द्र र विभागबीच पहिलो चरणमा ०८२ कात्तिक १२ गते ६ महिनाभित्र १२ लाखथान लाइसेन्स छपाइ गर्ने सम्झौता गरिएको थियो । केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको थियो । दोस्रो चरणमा भने गत वैशाख ४ गते १५ लाख ४७ हजार लाइसेन्स छाप्ने सम्झौता भएको थियो ।
गत आर्थिक वर्षमा केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाखथान हुलाक टिकट छापिएको तिमिल्सिनाले जानकारी दिए । केन्द्रमा हाल नौ इन्जिनियर र १६ अरू प्राविधिक कर्मचारी गरी २५ जनालाई खटाएको जनाइएको छ ।
यस्तै, केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि पार्क (आईटी पार्क)का निम्ति निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि त्यसलाई ६ वर्षअघि तत्कालीन सरकारले केन्द्रमा परिणत गरेको थियो । केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइ गर्न सकिन्छ ।
२५ कर्मचारी लाइसेन्स छपाइमा
सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइका लागि नौ जना इन्जिनियर र १६ जना प्राविधिक गरी २५ कर्मचारी खटिएका छन् । केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवनको काम पनि अन्तिम चरणमा पुगेको छ ।
सूचना–प्रविधि पार्क (आईटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन भएपछि सरकारले उक्त पार्कलाई छ वर्षअघि सुरक्षण मुद्रण केन्द्रमा परिणत गरेको थियो ।
केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर र सिमकार्डलगायत सुरक्षित रूपमा छाप्न सकिने पूर्वाधार छन् ।
पार्क परिसरमा खानेपानीका लागि एक लाख लिटर क्षमताका दुई ट्यांकी, छापाखाना सञ्चालनका लागि चार ठूला जेनेरेटर र तीन लाख लिटर क्षमताको भूमिगत डिजेल ट्यांकी निर्माण गरिएको छ ।
प्रेस पूर्ण रूपमा सञ्चालनमा आए सुरक्षित मुद्रणका लागि नेपालबाट वार्षिक रूपमा बाहिरिने करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ ।
विसं २०५७ मा निर्माण सुरु भएको आईटी पार्कको काम सम्पन्न भएपछि २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
कुल २५७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा दुई ठूला व्यापारिक तथा प्रशासनिक भवन, भण्डारण भवन र चार सुविधासम्पन्न आवासीय भवनसहित १० भवन छन् ।
दक्षिण एसियाकै नमुना र ठूलो मानिएको उक्त पार्क सञ्चालनमा आउन नसक्दा लामो समय जीर्ण अवस्थामा रहेको थियो ।


+ There are no comments
Add yours