राजधानीमा ग्यासको अभावले उपभोक्ता हैरान

२२ भदौ, काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि राजधानी काठमाडौं उपत्यका ग्याँस अभाव महशुस भएको थियो । अहिले पनि उक्त अभाव कायमै रहेको छ । यद्यपी पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिन्डर ग्यास काठमाडौं ल्याएको नेपाल आयल निगमले दाबी गरेको छ । निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार आठ सय ७७ वटा सिलिन्डर काठमाडौं ल्याइएको हो ।

भदौ १८ गते २४ हजार चार सय ९४, भदौ १९ गते ३४ हजार एक सय ३४ र भदौ २० गते २९ हजार दुई सय ४९ वटा सिलिन्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको दाबी गरेको छ । यद्यपि काठमाडौं उपत्यकामा भने उपभोक्ता ग्यास नपाएर आजित बनिरहेका छन् ।

शनिबार उपत्यकाका विभिन्न स्थानबाट ग्यास सिलिन्डर निगमले बाँडेको थियो । जहाँ सयौँ मानिस सिलिन्डर बोकेर लिन गए पनि ग्यास नपाई फर्किनुपरेको थियो । शनिबार बालाजु औद्योगिक क्षेत्रमा लामो लाइनमा बसे पनि अन्तिममा सकिएको भन्दै धेरै उपभोक्ता रित्तो सिलिन्डर बोकेर फर्किएका थिए ।

भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए । त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था गरेको हो । निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ । v

You May Also Like

More From Author

+ There are no comments

Add yours