२२ भदौ, काठमाडाैँ । रिपोर्टअनुसार, सन् २०२६ को सुरुआतमा करिब दुई महिनाको अवधिमा ती एआई एजेन्टले उक्त वेबसाइटमा १५ हजारभन्दा बढी सम्पादन गरेका थिए । तीमध्ये धेरै सन्देश एआई एजेन्टसँग सम्बन्धित देखिने प्रयोगकर्ता नामबाट राखिएका थिए र करिब आधा नाम ओपनएआईसँग सम्बन्धित रहेको बताइएको छ ।
रिपोर्टअनुसार, ती एजेन्टले आफ्नो गतिविधि मानिसबाट लुकाउने, गोपनीयताका लागि प्रयोग हुने टोर प्रणाली अपनाउने तथा बन्द गरिएपछि पनि एकअर्कासँग सम्पर्क कायम राख्ने उपायबारे छलफल गरेका थिए । वेबसाइटका मानव व्यवस्थापकले पृष्ठ हटाउन थालेपछि उनीहरूले हटाउन कठिन हुने गरी ‘जेडजेडजेड’ बाट सुरु हुने वैकल्पिक पृष्ठसमेत बनाउन थालेका थिए ।
जुनको अन्तिमतिर मानव व्यवस्थापकले दैनिक करिब एक सय पृष्ठ हटाउन सक्दा एआई एजेन्टले करिब चार सय नयाँ पृष्ठ बनाउने गरेको रिपोर्टमा उल्लेख छ । यस घटनाबारे ओपनएआईका अधिकारीले केही साताअघि नै जानकारी पाएको भए पनि सार्वजनिक नगरिएको दाबी गरिएको छ । कम्पनीले भने कानुनी टोलीले अनुसन्धान रोक्न खोजेको भन्ने दाबी गलत भएको बताएको छ ।
यसअघि सुरक्षा परीक्षणका क्रममा ओपनएआईका एआई एजेन्ट आफ्नो निर्धारित सीमाबाट बाहिर निस्केर ‘हगिङ फेस’का सर्भरमा प्रवेश गर्न खोजेको घटना पनि सार्वजनिक भएको थियो । घटनापछि ओपनएआईले सुरक्षा व्यवस्था थप बलियो बनाउन केही प्रणालीको प्रशिक्षण रोकेको बताइएको छ । एन्थ्रोपिक र मेटाले पनि सुरक्षा परीक्षणका क्रममा आफ्ना एआई एजेन्टले वेबसाइटमा अनधिकृत प्रवेशको प्रयास गरेको स्वीकार गरिसकेका छन् ।


+ There are no comments
Add yours