सांसद न्यौपानेले भने : त्रिशूली थ्री ए सुरुङ भित्रबाट मान्छेको आवाज सुनियो, यो आशाजनक संकेत हो

१९ भाद्र, काठमाडाैँ । सांसद श्रीराम न्यौपानेले रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको बताएका छन्। उद्धारमा खटिएका नेपाली सेनाबाट सुरुङभित्र मानिसको आवाज आएको जानकारी प्राप्त भएको उनले बताएका हुन्।

उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेतका रूपमा लिइएको छ।

‘त्रिशूली थ्री ए भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।’

उद्धार तथा खोजी कार्यमा संलग्न उनका अनुसार उनी हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार कार्यमा सहभागी थिए। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यहाँबाट गाडीमार्फत काठमाडौं फर्कने तयारीमा छन्।

‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु,’ सांसद न्यौपानेले भने।

उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोलीलगायत सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइने आशा व्यक्त गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours