कृष्णभीरको पहिरोले बीपी राजमार्गमा सवारी चाप: १० टनभन्दा बढीका मालवाहक गाडी राति मात्रै चल्ने

१९ भदौ, काठमाडौँ । केही दिनअघि आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग बनेको बीपी राजमार्गमा अत्यधिक सवारी चाप बढेको छ। यसरी राजमार्गमा यातायातको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि आलोपालो प्रणाली लागू गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयअनुसार अब १० टनभन्दा बढी तौल भएका मालवाहक सवारीसाधनहरू केवल रातिको समयमा मात्रै सञ्चालन गर्न पाइने व्यवस्था मिलाइएको छ। बीपी राजमार्गमा १० टनभन्दा बढीका भारी सवारीसाधन सञ्चालन गर्न प्राविधिक कठिनाइ हुने भएकाले यो तौल सीमा कायम गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सडकमा अनावश्यक जाम हुन नदिन ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको नजिकको समन्वयमा आवश्यक प्रबन्ध मिलाइएको जानकारी दिए। उनका अनुसार धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधनहरू सम्भव भएसम्म बाटामा क्रस नहुने गरी विशेष समय तालिका व्यवस्थापन गरिएको छ।

यसैबीच, ग्यास बुलेटलगायतका ठूला मालवाहक सवारीसाधनहरूलाई बीपी राजमार्गअन्तर्गतको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीहरूको विशेष उपस्थितिमा मात्र सञ्चालन गरिनेछ। दुर्घटनाको उच्च जोखिम रहेका साँघुरा घुम्ती तथा सम्भावित अवरोधका स्थानहरू पहिचान गरी डिभिजन सडक कार्यालय भक्तपुरले तत्कालै सडक सुधारका कार्यहरू अगाडि बढाउने भएको छ।

डिभिजन सडक कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले राजमार्गका जोखिमयुक्त स्थानहरूमा सवारीसाधनहरू सहज रूपमा पार गराउन तथा आकस्मिक रूपमा सडक अवरुद्ध भइहालेमा तत्काल खुलाउन डोजर तथा अन्य आवश्यक उपकरणहरू पूर्ण तयारी (तम्तयारी) अवस्थामा राखिएको बताएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours