०९ साउन, काठमाडौँ । नाबालिका किशोरीको अवैध डिम्ब कारोबार प्रकरणमा पक्राउ परेकी बिचौलिया राधिका गोतामे र वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आइभिएफ (इन–भिट्रो फर्टिलाइजेसन) विशेषज्ञ डा. नूतन शर्माबिच आर्थिक कारोबार भएको देखिएको छ । अनुसन्धानका क्रममा फेला परेका ह्वाट्सएप सन्देश र मोबाइल बैंकिङ कारोबारका विवरणले दुवैबिच आर्थिक लेनदेन भएको प्रारम्भिक पुष्टि भएको प्रहरीको भनाइ छ ।
गत आइतबार पक्राउ गरेकी गोतामेमाथि अवैध डिम्ब कारोबारका लागि नाबालिका खोजी गर्ने बिचौलियाको भूमिका खेलेको आरोप छ । डा. शर्मा भने ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा सञ्चालित आइभिएफ सेन्टरकी सञ्चालिका हुन् । प्रहरीको अनुसन्धानअनुसार गोतामेले नाबालिका उपलब्ध गराउने र त्यसबापत प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिने गरेको प्रारम्भिक प्रमाण फेला परेको छ ।

प्राप्त ह्वाट्सएप सन्देशले पनि यस्तो आर्थिक कारोबार भएको देखाउँछ । प्राप्त विवरणअनुसार डा. शर्माले गोतामेको बैंक खातामा मोबाइल बैंकिङमार्फत पटक–पटक ५०–५० हजार रुपैयाँ पठाएको देखिन्छ । प्राप्त सन्देशअनुसार डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । डा. शर्माले उक्त रकम २५ डिसेम्बर २०२५ को साँझ ६ः३१ मा गोतामेको बैंक खातामा मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । त्यस्तै, २२ डिसेम्बर २०२५ को साँझ ७ः५८ मा पनि डा. शर्माले गोतामेको बैंक खातामा ५० हजार रुपैयाँ नै पठाएको देखिन्छ । प्रहरीका अनुसार गत १४ असारमा १६ वर्षीया नाबालिकाको डिम्ब कारोबार गर्ने क्रममा पनि डा. शर्माले मोबाइल बैंकिङमार्फत नै गोतामेलाई ५० हजार रुपैयाँ पठाइदिएकी थिइन् । प्राप्त रकममध्ये ३० हजार रुपैयाँ उनले नाबालिकालाई उपलब्ध गराएकी थिइन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले अनुसन्धानका क्रममा डा. शर्मा र गोतामेबिच डिम्ब कारोबारसँग सम्बन्धित आर्थिक लेनदेन देखिएको बताए । ‘अवैध डिम्ब कारोबारमा संलग्न एक बिचौलिया पक्राउ परेकी छिन् । उनी र घटनामा संलग्न एक चिकित्सकबिच आर्थिक कारोबार भएको देखिन्छ । पीडित नाबालिकाको बयानले पनि यो तथ्यलाई समर्थन गरेको छ । उनले डिम्ब दिएबापत ३० हजार रुपैयाँ पाएको बताएकी छिन् । घटनाको अनुसन्धान जारी छ र थप तथ्य खुल्दै गएका छन्,’ उनले भने ।

प्रहरीका अनुसार घटनामा डा. शर्मा, गोतामे र अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने देखिएको छ । हाल उपलब्ध प्रमाण संकलन गर्ने र थप संलग्न व्यक्तिको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । ‘यो अवैध कारोबारमा संगठित गिरोह संलग्न रहेको प्रारम्भिक संकेत देखिएको छ । अनुसन्धान जारी छ र पर्याप्त प्रमाण जुटेपछि सम्बन्धित व्यक्तिविरुद्ध कानुनी कारबाही अघि बढाइनेछ,’ उनले भने ।
प्रहरीका अनुसार गोतामेलाई बी एन्ड बी अस्पताल परिसरबाट पक्राउ गरिएको थियो । घटनाका समयमा डा. शर्मा फिलिपिन्सको मनिलामा रहेकाले उनलाई तत्काल पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार गोतामेले आर्थिक अवस्था कमजोर रहेकी १६ वर्षीया किशोरीलाई आर्थिक प्रलोभन देखाएर डिम्ब दान गर्न राजी गराएकी थिइन् । त्यसपछि ती किशोरी बी एन्ड बी अस्पतालस्थित आइभिएफ सेन्टर पुगेकी थिइन्, जहाँ उनलाई डिम्ब उत्पादन बढाउने उद्देश्यले इन्जेक्सन लगाइएको आरोप छ । सात दिनपछि पुनः आउन भनिएपछि घर फर्किएकी किशोरीको स्वास्थ्यमा प्रतिकूल असर देखिएको थियो । त्यसपछि मात्र यो घटना प्रहरीकहाँ पुगेको हो ।
यसअघि पनि लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा नेपाल मेडिकल काउन्सिलले डा. शर्माको चिकित्सकीय इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरेको थियो । उक्त निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट दायर गरे पनि अदालतले काउन्सिलको निर्णय कार्यान्वयन रोक्ने अन्तरिम आदेश दिएको थिएन ।
साथी र बिचौलियाको प्रलोभनमा किशोरी
पीडित किशोरीका अनुसार उनलाई सुरुमा आफ्नै साथीले डिम्बदान गर्दा केही नहुने र पैसा पनि पाइने भन्दै प्रलोभनमा पारेकी थिइन् ।
‘मैले पनि दुई–तीन पटक दिइसकेँ । यो महिनैपिच्छे आफैँ खेर जाने चिज हो । केही पनि हुँदैन, पैसा पनि आउँछ भनेर साथीले भनेकी थिइन्,’ किशोरीले भनेकी छन् ।
साथीको कुरा विश्वास गरेपछि उनी बिचौलियाको सम्पर्कमा पुगेकी थिइन् । बिचौलियाले समेत डिम्ब निकाल्दा शरीरमा कुनै असर नपर्ने र दुखाइ समेत नहुने भन्दै उनलाई डिम्बदानका लागि तयार गराएको किशोरीको भनाइ छ ।
त्यसपछि उनलाई ग्वार्कोस्थित बी एन्ड बी अस्पताल परिसरमा रहेको आईभीएफ केन्द्रमा लगिएको थियो । सुरुमा हर्मोनको इन्जेक्सन लगाइएको र केही दिनपछि डिम्ब संकलन गरिएको उनले बताएकी छन् ।
डिम्ब संकलनपछि भने आफ्नो स्वास्थ्यमा गम्भीर समस्या देखिएको किशोरीको भनाइ छ । अत्यधिक कमजोरीका कारण ढल्ने सम्मको अवस्था आएपछि परिवारले उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याएको थियो ।
किशोरीका अनुसार उनलाई सुरुमा ५० हजार रुपैयाँ दिने भनिए पनि ३० हजार रुपैयाँ मात्र दिइएको थियो । डिम्ब संकलनपछि स्वास्थ्यमा समस्या देखिएर उपचार गर्नुपरेपछि आफू आर्थिक र शारीरिक दुवै समस्यामा परेको उनको गुनासो छ ।
नाबालिगबाट डिम्ब संकलन कानुन र स्वास्थ्य मापदण्डविपरीत
सरकारले नि:सन्तान उपचार तथा आईभीएफ सेवालाई व्यवस्थित गर्न ‘नि:सन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ जारी गरेको छ । उक्त मापदण्ड अनुसार डिम्बदान गर्ने महिलाको उमेर २० देखि ३५ वर्षसम्म हुनुपर्ने व्यवस्था छ ।
डिम्बदान गर्नु अघि स्वास्थ्य तथा प्रयोगशाला परीक्षण गर्नुपर्ने, डोनरलाई तत्काल तथा भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमबारे जानकारी दिनुपर्ने र सुसूचित मञ्जुरी लिनुपर्ने व्यवस्था पनि मापदण्डमा गरिएको छ ।
त्यस्तै, एक महिलाले जीवनमा बढीमा ६ पटकसम्म मात्र डिम्बदान गर्न पाउने र प्रत्येक डिम्बदानबीच कम्तीमा तीन महिनाको अन्तर हुनुपर्ने व्यवस्था छ ।
तर, पछिल्लो घटनामा १६/१७ वर्ष उमेरकी नाबालिग किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब संकलन गरिएको आरोप लागेको छ । यसले विद्यमान कानुन तथा सरकारले बनाएको स्वास्थ्य मापदण्डको कार्यान्वयनमाथि समेत गम्भीर प्रश्न उठाएको छ ।
१० हजारको लोभ देखाएर लाखौँको कारोबार
प्रहरीको अनुसन्धानले आर्थिक अवस्था कमजोर भएका किशोरी तथा युवतीलाई लक्षित गरी बिचौलिया मार्फत डिम्बदानका लागि तयार गराउने गरिएको देखिएको छ । उनीहरूलाई निश्चित रकम दिने प्रलोभन देखाएर आईभीएफ केन्द्रसम्म पुर्याउने र डिम्बदान सम्बन्धी कागजातमा हस्ताक्षर गराउने गरिएको बताइएको छ ।
त्यसपछि डिम्ब उत्पादन बढाउन हर्मोनका इन्जेक्सन दिने गरिन्छ । निश्चित अवधिसम्म इन्जेक्सन दिएपछि औषधिको प्रभावबाट विकसित भएका डिम्बलाई चिकित्सकीय प्रक्रियामार्फत संकलन गरिन्छ ।
संकलित डिम्ब नि:सन्तान दम्पतीको उपचारमा प्रयोग हुने गर्छ । तर, अवैध कारोबारमा संलग्नहरूले डिम्बदान गर्ने महिलालाई न्यून रकम दिएर प्राप्त डिम्बबाट ठूलो रकम असुल्ने गरेको आरोप छ ।
यस अघि पनि नेपालमा आर्थिक रूपमा कमजोर महिलालाई प्रलोभनमा पारेर डिम्ब संकलन तथा कारोबार गरिएको आरोपमा अनुसन्धान भएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २०८२ सालमा बबरमहलस्थित होप फर्टिलिटी एन्ड रिसर्च सेन्टर र महाराजगञ्जस्थित एन्जल फर्टिलिटी क्लिनिकसँग सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान गरेको थियो ।
सीआईबीको अनुसन्धानका क्रममा डिम्बदान गर्ने महिलालाई ८ देखि १० हजार रुपैयाँसम्म दिने र सोही डिम्बबाट २० लाख रुपैयाँसम्म असुल्ने गरेको तथ्य फेला परेको दाबी गरिएको थियो ।
अनुसन्धानपछि सीआईबीले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार केही चिकित्सक तथा अन्य व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको कार्यकालमा महान्यायाधिवक्ता सबिता भण्डारी मार्फत डिम्ब तस्करीसम्बन्धी मुद्दा नचलाउने निर्णय भएको थियो ।
तत्कालीन महान्यायाधिवक्ता भण्डारीको आफ्नै लगानी रहेको भनिएको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरसमेत जोडिएको उक्त प्रकरणमा मुद्दा नचलाउने निर्णय भएपछि त्यसलाई लिएर प्रश्न उठेको थियो ।
अहिले फेरि नाबालिग किशोरीलाई नै लक्षित गरी डिम्ब संकलन तथा कारोबार गरिएको आरोपमा नयाँ घटना सार्वजनिक भएपछि नेपालमा आईभीएफ सेवा, डिम्बदान प्रक्रिया र यसको नियमनमाथि थप गम्भीर बहस सुरु भएको छ ।
प्रहरीले भने पछिल्लो घटनामा संलग्न सबै व्यक्तिको भूमिका अनुसन्धानबाट खुल्ने र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।


+ There are no comments
Add yours