बीवाईडीमा हंगेरीका पूर्वविदेशमन्त्रीको प्रवेश, युरोप विस्तारको जिम्मेवारी सम्हाल्ने

३२ असार, काठमाडौँ । चीनको प्रमुख विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीले हंगेरीका पूर्वविदेश तथा व्यापारमन्त्री पिटर सिजार्तोलाई कम्पनीको उच्च कार्यकारी जिम्मेवारीमा नियुक्त गरेको छ।

उनले जुलाई १५ देखि लागू हुने गरी हंगेरीको संसद् सदस्य पदबाट राजीनामा दिएपछि बीवाईडीमा बाह्य सम्बन्ध तथा नयाँ व्यवसाय विस्तार प्रमुखको भूमिका सम्हाल्न थालेका हुन्।

४७ वर्षीय सिजार्तो दुई दशकभन्दा बढी समय हंगेरीको राष्ट्रिय राजनीतिमा सक्रिय थिए। उनी सन् २००२ देखि संसद् सदस्य रहँदै आएका थिए भने सन् २०१४ देखि २०२६ को मे महिनासम्म विदेश तथा व्यापारमन्त्रीको जिम्मेवारीमा थिए।

नयाँ जिम्मेवारीबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत विश्वकै अग्रणी विद्युतीय सवारी उत्पादकमध्ये एक बीवाईडीसँग आबद्ध हुन पाएकोमा खुशी व्यक्त गरेका छन्।

उनका अनुसार बीवाईडीले पछिल्ला वर्षहरूमा विश्व अटोमोबाइल उद्योगमा उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीलाई नयाँ ऊर्जा सवारीसाधन उत्पादनमा विश्वस्तरको नेतृत्वकर्ता भन्दै उनले अब अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र नयाँ बजारमा व्यवसाय फैलाउने काममा आफू केन्द्रित हुने बताएका छन्।

सिजार्तोको नियुक्तिलाई चीन र हंगेरीबीच विद्युतीय सवारी उद्योगमा बढ्दो सहकार्यको संकेतका रूपमा पनि हेरिएको छ। बीवाईडीले सन् २०२४ मा दक्षिणी हंगेरीको सेगेड सहरमा आफ्नो पहिलो युरोपेली उत्पादन केन्द्र निर्माण सुरु गरेको थियो।

त्यसपछि दुवै पक्षबीच रणनीतिक सहकार्य सम्झौता भएको थियो, जसअन्तर्गत बुडापेस्टमा कम्पनीको युरोपेली मुख्यालय र अनुसन्धान तथा विकास (आर एन्ड डी) केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ।

सम्झौताका क्रममा तत्कालीन प्रधानमन्त्री भिक्टर ओरबानले विद्युतीय सवारी प्रविधिमा चीनको अग्रता हंगेरीका लागि आर्थिक अवसर बन्ने विश्वास व्यक्त गरेका थिए। बदलिँदो विश्व बजार र नयाँ प्रविधिको आवश्यकतालाई ध्यानमा राख्दै बीवाईडीसँगको साझेदारीलाई उनले दीर्घकालीन रणनीतिक कदमको संज्ञा दिएका थिए।

हंगेरी सरकारले पनि बीवाईडी, क्याटएललगायत ठूला चिनियाँ लगानीकर्तासँग स्थानीय उद्योगको सहकार्य विस्तार गर्ने नीति अघि बढाइरहेको छ। यसबाट लगानी, रोजगारी र प्रविधि हस्तान्तरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

हाल बीवाईडीले हंगेरीमा वार्षिक तीन लाख विद्युतीय सवारी उत्पादन क्षमता भएको कारखाना निर्माण गरिरहेको छ। साथै, बुडापेस्टमा युरोपेली मुख्यालय स्थापना गर्ने तयारीलाई पनि तीव्र बनाएको छ।

यसैबीच चिनियाँ ईभी कम्पनी नियोले पनि हंगेरीमा ब्याट्री स्वापिङ स्टेसन उत्पादन तथा अनुसन्धान केन्द्र स्थापना गरेर आफ्नो युरोप विस्तारलाई अघि बढाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours