३२ असार, काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्।
यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थपेको हो।
विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले खबरहबसँग कुरा गर्दै हालसम्म सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम मात्र भर्न सक्ने व्यवस्था रहेकामा अब राजस्वसमेत सोही प्रणालीबाट तिर्न मिल्ने जानकारी दिए।
‘लाइसेन्स लिन चाहने नयाँ सेवाग्राही तथा नवीकरण गर्ने सेवाग्राहीका लागि शुक्रबारदेखि अनलाइन प्रणालीमार्फत नै राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने।
उनका अनुसार नयाँ व्यवस्थासँगै सेवाग्राहीले राजस्व तिर्न बैंकमा पुगेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। यसले समय र खर्च दुवै बचत हुनुका साथै सेवा प्रवाहलाई थप छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


+ There are no comments
Add yours