सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न निर्देशन

३० असार, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

उहाँले सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवासमेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको बताइएको छ ।

उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबिच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो ।

बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्राडा विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्ष भएका अस्पतालमा अझ प्रभावकारी सेवा सञ्चालन गर्न र सात वटै प्रदेशमा जलनका बिरामीको उपचार गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीले अस्पतालको सेवा सुधारमा चासो व्यक्त गर्दै अस्पतालमा सरसफाइ राम्रो हुनुपर्ने, बिरामीले सहज रूपमा सेवा पाउनुपर्ने र अस्पतालमा देखिने गरेको अनावश्यक भिड कम गर्ने उपाय खोज्न पनि निर्देशन दिनुभएको थियो ।

प्राडा आचार्यका अनुसार अहिले जलनका गम्भीर बिरामी सीमित अस्पतालमा मात्रै केन्द्रित हुनुपर्ने अवस्था रहेकाले प्रत्येक प्रदेशमा कम्तीमा एउटा सुविधासम्पन्न जलन उपचार केन्द्र आवश्यक रहेको प्रधामन्त्रीको धारणा थियो ।

छलफलमा उपकुलपति आचार्यले वीर अस्पतालले भोगिरहेका आर्थिक तथा व्यवस्थापकीय समस्याबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । वीर अस्पतालको आर्थिक अवस्था कमजोर बन्दै गएको अवगत गराउँदै आचार्यले त्यसले सेवा सञ्चालनमै असर पर्ने जानकारी गराउनुभएको थियो ।

छलफलमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले सहभागी हुनुहुन्थ्यो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours