भोटेकोशी बाढीको त्रास ‘त्यो ठाउँमा फर्कने आँट छैन’

२२ भदौ, शिवालय (जाजरकोट) । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा जाजरकोटको शिवालय गाउँपालिका–८, लिस्पानीका डिलबहादुर कठायत, मदन बुढा र प्रकाश बुढा सडक मर्मतको काममा व्यस्त हुनुहुन्थ्यो । उहाँहरू रसुवाको मैलुङ क्षेत्रमा सडक तथा विद्युत् संरचना मर्मतको काममा खटिनुभएको थियो । १० गतेअघि आएको सामान्य बाढीका कारण सडक अवरुद्ध भएको थियो भने विद्युत्का पोल ढलेका थिए ।

सोही संरचना मर्मत गर्ने क्रममा उहाँहरू कोही औजार चलाइरहनुभएको थियो भने कोही सडक मर्मतको काम गरिरहनुभएको थियो । काममै व्यस्त रहेका बेला एक्कासि माथिबाट हावाहुरीसहित ठुलो बाढी आएको उहाँहरूले देख्नुभयो । बाढी देखेपछि उहाँहरूसहित करिब आठ/नौ जना कामदार ज्यान जोगाउन पहाडतर्फ भाग्नुभयो ।

त्रासदिपूर्ण क्षण सम्झँदै डिलबहादुर कठायत भन्नुहुन्छ, “पछाडि फर्केर हेर्दा माथिबाट हावाहुरीसहित एक्कासि ठुलो बाढी आएको देख्यौँ । अब भाग्नु पर्छ भनेर हतार हतार दौडियौँ । हातखुट्टा टेक्दै घाँस बुट्यान समात्दै पहाड चढ्यौँ । त्यो बेला आफू बाँचिन्छ भन्नेसमेत लागेको थिएन । धन्न धन्न ज्यान बचाउन सक्यौँ ।”

उहाँहरूका अनुसार बाढीले तीव्र गतिमा सडक, विद्युत्का पोल र उहाँहरूले काम गरिरहेको संरचना बगाउँदै अघि बढिरहेको थियो । सुरक्षित स्थानमा पुगेपछि उहाँहरू केही समयका लागि कोठामा पुग्नुभयो । मोबाइल लिएर पुनः जङ्गलतर्फ लाग्नुभयो । बाढी आएको दिन दिउँसो करिब १२/१ बजेतिर मोबाइल नेटवर्कले काम गर्न छाडेपछि उहाँहरूको घरपरिवारसँगको सम्पर्क पूर्ण रूपमा टुटेको थियो । उहाँले भन्नुभयो, “घरपरिवारलाई हामी कहाँ छौँ र कस्तो अवस्थामा छौँ भन्ने केही थाहा थिएन । हामी भने जङ्गलको बाटो हिँडिरहेका थियौँ । रातभर जङ्गलको बाटो हिँडियो, न खाना न त आराम नै । कता जाँदै छौँ, कता पुगिन्छसमेत पत्तो थिएन ।”

भोलिपल्ट बिहान उत्तरगयामा पुगेपछि मात्रै मोबाइल नेटवर्कले काम गरेको उहाँले बताउनुभयो । मोबाइलमा सामाजिक सञ्जाल हेर्दा आफूहरू बाढीमा बेपत्ता भएको समाचार सार्वजनिक भएको जानकारी पाउनुभयो । त्यसपछि उहाँहरूले आफूहरू सकुशल रहेको जानकारी दिँदै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो । भिडियो सार्वजनिक भएपछि आफन्त, साथीभाइ तथा चिनेजानेकाहरूबाट फोन र म्यासेज आउन थाले । उहाँले भन्नुभयो, “सबैले फोन र म्यासेज गर्नुभयो । हामी सकुशल छौँ भन्ने थाहा पाएपछि परिवारले पनि राहत महसुस गर्नुभयो ।”

केही समयपछि उहाँहरूलाई हेलिकोप्टर र गाडीमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको थियो । बाढीको घटना सम्झँदा अहिले पनि डर लाग्ने उहाँहरूले बताउनुभयो । पहाडतर्फ भाग्दाको अवस्था, रातभर जङ्गलको बाटो हिँड्नु परेको घटना र परिवारसँग सम्पर्कविहीन हुनु परेको अवस्थाले आफूहरूलाई निकै त्रसित बनाएको उहाँहरूको भनाइ छ । कठायत भन्नुहुन्छ, “त्यो ठाउँ सम्झिँदा अहिले पनि डर लाग्छ । त्यहाँ गएर फेरि काम गर्ने आँट छैन ।”

You May Also Like

More From Author

+ There are no comments

Add yours