बाढीमा हराएकाहरूको पहिचान गर्न डीएनए परीक्षण गराउन जिल्ला प्रहरी कार्यालयको आग्रह

२० भदाै, रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका नेपाली तथा विदेशी नागरिकका फेला परेका शव वा शरीरका अङ्गको पहिचानका लागि डीएनए परीक्षण गराउन आग्रह गरेको छ।

आफन्तजन फेला नपरी हराइरहेका व्यक्तिहरूको शव वा अङ्ग यकिन गर्न चाहनेहरूलाई डीएनए नमुना संकलनका लागि सम्पर्कमा आउन प्रहरीले सूचना जारी गरी अनुरोध गरेको हो। परीक्षणका लागि सबैभन्दा नजिकको रगतको नाता पर्ने बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना उपस्थित हुनुपर्नेछ।

निजहरू नभएको खण्डमा दाजु, भाइ, दिदी वा बहिनीमध्ये एक जनाले नमुनाका लागि रसुवा अस्पताल धुन्चे वा जिल्ला प्रहरी कार्यालय धुन्चे, रसुवामा सम्पर्क गर्न सक्नेछन्। नमुना दिनका लागि ताजा रगत संकलन गरिनेछ। विदेशमा रहेका व्यक्तिको हकमा बाबु,आमा,छोरा र छोरीमध्ये कुनै एक जनाको विदेशमै डीएनए प्रोफाइल तयार गरी तुलनाका लागि सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल [email protected] मा पठाउन प्रहरीले अनुरोध गरेको छ।

डीएनए परीक्षणका लागि नाता प्रमाणित (सम्भव भएसम्म हराएका व्यक्ति र परीक्षण गर्ने व्यक्तिको), २ प्रति पासपोर्ट साइजको फोटो र परिचय खुल्ने कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानीको प्रतिलिपि) आवश्यक पर्नेछ। इच्छुक व्यक्तिले बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म रसुवा अस्पताल धुन्चेमा सम्पर्क गर्न सक्नेछन् ।

यसका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी हवल्दार पर्शुराम घिमिरे (मो. ९८४३१४२३२९) र रसुवा अस्पताल धुन्चेका ल्याब टेक्निसियन अर्जुन रेग्मी (मो. ९८६१४७६४८०) लाई सम्पर्क अधिकृत तोकिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours