०५ साउन, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुलको दुवैतर्फ पहुँचमार्ग व्यवस्थित नबनाइँदा सो क्षेत्रका स्थानीयवासी जोखिमपूर्ण रूपमा आवतजावत गर्न बाध्य छन् ।
स्थानीय बासिन्दाका अनुसार पुलको दुवै किनारामा सडकको सतह पुलसँग नमिलाइएको, प्रवेशद्वार साँघुरो रहेको तथा कङ्क्रिटको अवरोधका कारण मोटरसाइकल, साइकललगायत साना सवारीसाधन सञ्चालन गर्न अति नै कठिनाइ भएको छ । डुडुवा खडैँचाका रामफेरन बर्माले आवागमन गर्नुपर्ने बाध्यताका कारण सो पुलमा चढ्ने र ओर्लने क्रममा सन्तुलन गुम्ने जोखिम रहने र वर्षायाममा चिप्लो सडकका कारण दुर्घटनाको खतरा अत्यधिक रहेको गुनासो गर्नुभयो ।
त्यसै गरी डुडुवा कधइपुरवाका स्थानीय रमेश मिश्रले पुल निर्माणपछि सहज आवतजावत हुने अपेक्षा गरिएकोमा पहुँचमार्ग व्यवस्थित नहुँदा झनै डर र त्रासबिच यात्रा गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनेपछि सहज हुन्छ भन्ने अपेक्षा गरेका थियौँ तर पुलमा चढ्ने र ओर्लने क्रममा निकै सावधानी अपनाउनु पर्छ । विशेष गरी विद्यार्थी, महिला र ज्येष्ठ नागरिकलाई बढी कठिन भइरहेको छ । सम्बन्धित निकायले समयमै आवश्यक सुधार गरिदिए सहज हुने थियो ।” स्थानीय बासिन्दाका अनुसार पुलमा जोडिने सडकको सतह नमिल्दा सवारीसाधन सञ्चालन र पैदल आवागमनमा पनि समस्या भइरहेको छ । पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म आवश्यक सुधार नभएको उनीहरूको गुनासो छ ।
डुडुवा–१ का वडाध्यक्ष पटेश्वर कुर्मीसँग सोबारे प्रतिक्रिया माग्दा उहाँले उक्त पुल तीन वर्षअघि वडा कार्यालय र गाउँपालिकासँग कुनै सुझाव सल्लाह नलिई प्रदेश सरकारको बजेटमा निर्माण गरिएको बताउनुभयो । उहाँले सो पुल डुडुवाखोलामा तटबन्ध गरेर निर्माण गर्नुपर्नेमा कटान क्षेत्रमा निर्माण गरिएकाले पुलको दुवैतर्फ खोलाले कटान गर्दा यस्तो समस्या देखिएको र यात्रा गर्न जोखिम भएको बताउनुभयो ।


+ There are no comments
Add yours