बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान

०४ साउन, काठमाडौँ । एन्डी बर्नहाम आधिकारिक रूपमा ब्रिटेनका ५९ औँ प्रधानमन्त्री बनेका छन्। बकिङ्गम प्यालेसमा राजा चार्ल्ससँग भएको निजी भेटघाटका क्रममा उनलाई सरकार गठनका लागि आमन्त्रित गरिएको हो।

उता डाउनिङ स्ट्रिटमा लेबर पार्टीका दर्जनौँ नेताहरू भेला भइरहेका छन्, जसमध्ये केहीले नयाँ सरकारमा महत्त्वपूर्ण जिम्मेवारी पाउन सक्नेछन्।

बर्नहामले यसअघि पनि लेबर पार्टीको नेता बन्ने प्रयास गरे पनि सफलता पाएका थिएनन्। सन् १९७० मा लिभरपुलमा जन्मिएका बर्नहामको हुर्काइ वारिङ्टन नजिकैको एउटा गाउँमा भएको हो।

उनका बुबा ब्रिटिश टेलिकममा इन्जिनियर र आमा रिसेप्सनिस्ट थिइन्। दुवै जना लेबर पार्टीका बलिया समर्थक भएकाले बर्नहामको राजनीतिमा चासो सानै उमेरमा सुरु भएको थियो।

यसअघि बेलायतका प्रधानमन्त्री स्टार्मरले आफ्नो पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि उनले बकिङ्गम प्यालेस पुगेर राजा चार्ल्ससँग भेटघाट गरे। सत्ता हस्तान्तरण प्रक्रियामा यो एउटा परम्परागत औपचारिकता मानिन्छ। उक्त भेटघाटको केही बेरमै एन्डी बर्नहाम राजा चार्ल्सलाई भेट्न पुगेका थिए।

बकिङ्गम प्यालेसले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘सांसद सर किएर स्टार्मरले आज बिहान राजासँग भेट गरी प्रधानमन्त्री तथा ट्रेजरीको फर्स्ट लर्ड पदबाट आफ्नो राजीनामा बुझाउनुभएको छ। महामहिमले त्यसलाई सहर्ष स्वीकार गर्नुभएको छ। लेडी स्टार्मरलाई पनि राजाले स्वागत गर्नुभयो।’

स्टार्मरको राजीनामासँगै बेलायतमा जीवित पूर्वप्रधानमन्त्रीहरूको सङ्ख्या बढेर नौ पुगेको छ, जुन अहिलेसम्मकै रेकर्ड हो। यी पूर्वप्रधानमन्त्रीहरूमा जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउन, डेभिड क्यामरन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस, ऋषि सुनक र स्टार्मर रहेका छन्।

८३ वर्षीय जोन मेजर सबैभन्दा वृद्ध जीवित पूर्वप्रधानमन्त्री हुन् भने ४६ वर्षीय ऋषि सुनक सबैभन्दा कान्छा पूर्वप्रधानमन्त्री हुन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours