विश्वकप फाइनलका १० रोचक तथ्य : ८८ सेकेन्डको गोलदेखि मेसीको ऐतिहासिक अवसरसम्म

०२ साउन, काठमाडौँ। विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च फिफा विश्वकपको फाइनल सधैं इतिहास, कीर्तिमान र अविस्मरणीय क्षणले भरिएको हुन्छ ।

सन् १९३० देखि २०२२ सम्मका २२ विश्वकप फाइनलले धेरै अनौठा तथ्य जन्माएका छन् ।

आइतबार हुने अर्जेन्टिना र स्पेनबीचको फाइनलअघि त्यस्ता केही रोचक तथ्यहरू प्रस्तुत गरेका छौं ।

८८ सेकेन्डमै भएको थियो सबैभन्दा छिटो गोल

विश्वकप फाइनलमा सबैभन्दा छिटो गोल नेदरल्यान्ड्सका जोहान निस्केन्सले सन् १९७४ मा पश्चिम जर्मनीविरुद्ध गरेका थिए । खेल सुरु भएको मात्र ८८ सेकेन्डमा उनले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यो पेनाल्टीसम्म पुग्न नेदरल्यान्ड्सले विपक्षीले बल छुनुअघि नै लगातार १६ पास खेलेको थियो ।

६० वर्षपछि पहिलो क्लिन सिट

पहिलो विश्वकपदेखि लगातार २४ फाइनलसम्म कुनै पनि टोलीले क्लिन सिट राख्न सकेन । अन्ततः सन् १९९० मा पश्चिम जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै पहिलो पटक गोल नखाई विश्वकप फाइनल जित्यो । त्यस टोलीका गोलकिपर बोडो इल्ग्नर २३ वर्षमै विश्वकप फाइनल खेल्ने सबैभन्दा कान्छा गोलरक्षक बने ।

दोस्रो जर्सीमा जित्ने पहिलो टोली स्पेन

सन् २०१० मा स्पेनले नेदरल्यान्ड्सलाई हराउँदा आफ्नो दोस्रो रोजाइको गाढा निलो जर्सी लगाएको थियो । त्यससँगै ४४ वर्षपछि दोस्रो जर्सीमा विश्वकप फाइनल जित्ने पहिलो टोली बन्यो ।

यसअघि सन् १९६६ मा इंग्ल्यान्डले आफ्नो अवे (रातो) जर्सीमा पश्चिम जर्मनीलाई हराएको थियो ।

दुई गोलले पछि परेर उपाधि जितेको एउटै टोली

सन् १९५४ को विश्वकप फाइनलमा हंगेरीले खेलको पहिलो आठ मिनेटमै २–० को अग्रता लिएको थियो । तर पश्चिम जर्मनीले शानदार पुनरागमन गर्दै ३–२ ले जित निकाल्यो ।

विश्वकप फाइनलमा दुई गोलले पछि परेर उपाधि जित्ने इतिहासमा अहिलेसम्म यही एउटा टोली हो ।

२२ वर्षको उमेर अन्तर भएको विजेता टोली

सन् १९८२ मा इटाली विश्वविजेता बन्दा टोलीका सबैभन्दा कान्छा खेलाडी जिउसेप्पे बेर्गोमी १८ वर्षका थिए भने कप्तान डिनो जोफ ४० वर्षका ।

एउटै विश्वकप विजेता टोलीमा २२ वर्षको उमेर अन्तर अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

काफु र मेसीको विशेष कीर्तिमान

ब्राजिलका काफु विश्वकपका तीन फाइनल खेल्ने एकमात्र खेलाडी थिए । उनले १९९४, १९९८ र २००२ का फाइनल खेलेका थिए ।

अब अर्जेन्टिनाका लियोनल मेसीले पनि २०१४, २०२२ र २०२६ गरी तेस्रो विश्वकप फाइनल खेल्दै काफुको कीर्तिमान बराबरी गर्नेछन् ।

फाइनलका सर्वाधिक गोलकर्ता एमबाप्पे

फ्रान्सका केलियन एम्बाप्पे विश्वकप फाइनलमा सर्वाधिक चार गोल गर्ने खेलाडी हुन् । उनले २०१८ मा एक तथा २०२२ को फाइनलमा ह्याट्रिक गरेका थिए ।

एम्बाप्पेको ११८औं मिनेटको गोल विश्वकप फाइनल इतिहासकै सबैभन्दा ढिलो समयमा भएको गोल पनि हो ।

दुई फाइनलमा गोल गर्ने पाँच खेलाडी मात्रै

भाभा, पेले, पाउल ब्राइटनर, जिनेदिन जिदान र किलियन एम्बाप्पे मात्र दुई फरक विश्वकप फाइनलमा गोल गर्ने खेलाडी हुन् ।

सोमबार बिहान हुने फाइनलमा लियोनल मेसीले गोल गर्न सके यो विशिष्ट सूचीमा आफ्नो नाम थप्ने अवसर हुनेछ ।

दुई देशबाट विश्वकप फाइनल खेल्ने एक्लो खेलाडी

लुइस मोन्टी विश्वकप इतिहासका एकमात्र खेलाडी हुन् जसले दुई फरक राष्ट्रबाट फाइनल खेले ।

उनले सन् १९३० मा अर्जेन्टिनाबाट र १९३४ मा इटालीबाट विश्वकप फाइनल खेलेका थिए ।

मेसीले बनाउन सक्ने नयाँ इतिहास

स्पेनविरुद्ध मैदान उत्रँदा ३९ वर्षीय लियोनल मेसी विश्वकप फाइनल खेल्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बन्नेछन् ।

यदि अर्जेन्टिनाले उपाधि जित्यो भने मेसी दुई पटक विश्वकप जित्ने पहिलो कप्तान बन्नेछन् ।

साथै उनले प्रतियोगितामा आफ्नै सर्वाधिक खेल (३५), सर्वाधिक गोल र सर्वाधिक असिस्टका कीर्तिमानलाई अझै विस्तार गर्नेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours