२० माघ, काठमाडौँ । अघिल्लो निर्वाचनमा अत्यधिक चर्चामा रहेको काठमाडौँको निर्वाचन यसपटक अपेक्षित तहको चर्चा पाउन सकेको छैन। कुनैबेला एमालेको किल्ला मानिने काठमाडौँले पछिल्लोपटक कम्युनिस्ट नेताहरूलाई विस्थापित गरिसकेको छ। त्यसपछि नेपाली कांग्रेसले काठमाडौँमा दबदबा कायम गर्यो। तर यसपटक नयाँ र पुराना शक्तिहरूबिच प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ। नयाँ दल रास्वपा मात्र होइन, कांग्रेस र एमालेले पनि नयाँ उम्मेदवार अगाडि ल्याएका कारण निर्वाचन रोचक त छ, तर व्यापक चर्चा जुटाउन भने सफल भएको छैन।
गत निर्वाचनमा चर्चित केही अनुहार यसपटक मैदानमा छैनन्। नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ पुगेका छन् भने काठमाडौँ–२ बाट निर्वाचित रास्वपा नेतृ सोभिता गौतम चितवन–२ झरेकी छन्। काठमाडौँ–१ बाट निरन्तर निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौँ–९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठले यसपटक टिकट पाएका छैनन्।
काठमाडौँको चुनावी माहौलमा यस पटक झापा–५ को निर्वाचनले बढी ध्यान खिचेको छ, जहाँ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन काठमाडौँ महानगरका मेयर बालेन शाहले राजीनामा दिएर उम्मेदवारी दिएका छन्। उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ। त्यसपछि सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा र रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहबीच प्रतिस्पर्धा रोचक रहने देखिन्छ। रुकुम पूर्वका नेकपा संयोजक प्रचण्ड र चितवन–२ का रास्वपा सभापति रवि लामिछानेको उम्मेदवारीका कारण अधिकांशको ध्यान उनीहरूको निर्वाचन क्षेत्रतर्फ केन्द्रित भएको छ।
गत निर्वाचनमा काठमाडौँका १० क्षेत्रमध्ये कांग्रेसले ५, रास्वपाले ४, र एमालेले १ क्षेत्रमा विजय हासिल गरेको थियो। यसपटक जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा सबै दलले नयाँ उम्मेदवार अघि सारेका छन्।
काठमाडौँ–१ मा कांग्रेसले युवा उम्मेदवार प्रबल थापालाई टिकट दिएको छ भने क्षेत्र–१० मा प्रचण्डलाई हराएका कांग्रेस नेता राजन केसीले स्वयं विश्राम लिएका छन्। पुराना चर्चित उम्मेदवारको अनुपस्थितिले काठमाडौँको चुनावी माहौलमा उत्साह कम भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
निर्वाचन आयोगका अनुसार काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा कुल २५७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा धेरै उम्मेदवार क्षेत्र–१ (३० जना) मा छन् भने सबैभन्दा कम क्षेत्र–२, ६ र ८ मा २२–२२ जना उम्मेदवार छन्। क्षेत्र–७ र ४ मा २८/२८, क्षेत्र–५, ९ र १० मा २७/२७, र क्षेत्र–३ मा २४ उम्मेदवार रहेका छन्।
गत निर्वाचनको मत वितरण
काठमाडौँ–१ : कांग्रेसका प्रकाशमान सिंह ७,१४३ मतसहित विजयी, निकटतम प्रतिद्वन्द्वी रवीन्द्र मिश्र ७,०१८ मत।
काठमाडौँ–२ : रास्वपाकी सोभिता गौतम १५,२२९ मतसहित विजयी, एमालेका मणिराम फुयाँल ११,५५५ मत।
काठमाडौँ–३ : कांग्रेसका सन्तोष चालिसे १५,१५८ मतसहित विजयी, एमालेका कृष्णबहादुर राई ११,१९६ मत।
काठमाडौँ–४ : कांग्रेसका गगनकुमार थापा २१,३२ मतसहित विजयी, एमालेका राजन भट्टराई १३,८५५ मत।
काठमाडौँ–५ : कांग्रेसका प्रदीप पौडेल १५,२३७ मतसहित विजयी, एमालेका ईश्वर पोखरेल १०,१७५ मत।
काठमाडौँ–६ : रास्वपाका शिशिर खनाल १४,२०४ मतसहित विजयी, एमालेका सर्वेन्द्र खनाल ८,९११ मत।
काठमाडौँ–७ : रास्वपाका गणेश पराजुली ८,७४३ मतसहित विजयी, एमालेका श्यामकुमार घिमिरे ६,८०० मत।
काठमाडौँ–८ : रास्वपाका विराजभक्त श्रेष्ठ १०,१०५ मतसहित विजयी, हाम्रो नेपाली पार्टीका सुमन सायमी ५,८८९ मत।
काठमाडौँ–९ : एमालेका कृष्णगोपाल श्रेष्ठ ११,९५६ मतसहित विजयी, रास्वपाका टेकबहादुर पोखरेल १०,९६१ मत।
काठमाडौँ–१० : कांग्रेसका राजेन्द्रकुमार केसी १४,४४८ मतसहित विजयी, एमालेका हिमेश केसी ११,७८६ मत।
कुल मिलाएर काठमाडौँ निर्वाचन यसपटक नयाँ उम्मेदवार र पुराना अनुभवबीचको प्रतिस्पर्धाको रूप लिएर अघि बढेको छ। तर चर्चित नेताको अनुपस्थितिले माहौल अपेक्षाकृत शान्त देखिएको छ। मध्यान्न दैनिक


+ There are no comments
Add yours