अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने

२६ साउन, काठमाडौं । अष्ट्रेलियाले सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघीय महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका हुन् ।

यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने बताएका थिए ।

प्यालेस्टाइनी प्राधिकरण (पीए) ले अष्ट्रेलियासँग सेना तथा हतियार घटाउने, आम चुनाव गराउने र इजरायलको अस्तित्वलाई मान्यता दिने जस्ता प्रतिबद्धता जनाएको प्रधानमन्त्री अल्बानीजले सोमबार बताएका बीबीसीले उल्लेख गरेको छ ।

उनले भने, ‘दुवै देशलाई मान्यता दिनु नै एउटा समाधान हो, मध्य पूर्वमा जारी हिंसालाई समाप्त गर्ने उपाय हो, गाजामा जारी संघर्ष, पीडा र भोकमरीको अन्त्य गर्दै मानवताका लागि आशा जगाउने कुरा हो ।’

गाजामा युद्धविरामका लागि बढ्दो दबाव सामना गरिरहेको इजरायलले भने प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिनु ‘आतंकवादलाई पुरस्कार दिनु सरह’ हुने प्रतिक्रिया दिएको छ ।

शनिबारदेखि सोमबारसम्म नै गाजामा भोकमरी र कुपोषणलाका कारण पाँच जनाको मृत्यु भएको छ ।

गाजामा सक्रिय विद्रोही समूह हमास समर्थित स्वास्थ्य मन्त्रालयका अनुसार यही दौरान मृत्यु हुनेको संख्या २१७ पुगेको छ ।

सन् २०२३ देखि इजरायलले शुरू गरेको सैन्य कारबाहीमा ६१ हजारभन्दा बढीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours