१० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण भदौदेखि

२५ साउन, काठमाडौं । बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी भदौदेखि सुरु गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको छनोटमा परेको हाउलादर यसै साता नेपाल राष्ट्र बैंकसँग सम्झौता गरी काम सुरु गर्ने भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा लिने क्रममा राखेका सर्त अनुसार १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने भनेको थियो ।

सोही अनुसार केन्द्रीय बैंकले सुरु गरेको दोस्रो प्रक्रिया टुंगोमा पुर्‍याउँदै करिब साढे ४ करोड लागतमा आगामी महिनादेखि लेखा परीक्षण नै सुरु हुने भएको हो ।

उक्त प्रक्रियालाई अन्तिम रूप दिई काम सुरु गर्न केन्द्रीय बैंकले यसै साता हाउलादारसँग सम्झौता गर्ने तयारी गरेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक रोशनकुमार सिग्देलले बताए ।

पहिलो पटक अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट लेखा परीक्षण गराउन प्रक्रिया सुरु गर्दा असफल भएको थियो । त्यसपछि केन्द्रीय बैंकले पुस २०८१ देखि पुनः दोस्रो पटक फर्म छनोट प्रक्रिया सुरु गरेको थियो ।

केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय लेखा परीक्षण फर्मबाट आएको आवेदन मार्फत १९ फागुन २०८१ मा ६ कम्पनी सर्ट लिस्ट गरेको थियो । सर्ट लिस्टमा डेलोइट पार्टनर श्रीलंका, हाउलादार युनुस एन्ड कम्पनी बंगलादेश, केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस भारत, जेभी मेहेरा जेकेएसएस एसएसबीडीआई जेभी, एमएसके एन्ड एसोसिएट्स भारत र जेभी एसआरबीए एन्ड बिके अग्रवाल एन्ड कम्पनी परेका थिए।

तीमध्ये उत्कृष्ट प्रस्ताव बुझाउने हाउलादार युनुस एन्ड कम्पनी छनोट भएको थियो । केन्द्रीय बैंकले छनोटमा परेको फर्मलाई २५ जेठसम्म वित्तीय प्रस्ताव माग गरेको थियो । केन्द्रीय बैंकको माग अनुसार हाउलादरले बुझाएको ४ करोड ३५ लाख रुपैयाँ बराबरको वित्तीय प्रस्ताव पनि स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको छ ।

यो बीचमा हाउलादार छनोट भएको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । त्यसले गर्दा पनि असारमा सुरु गर्ने भनिएको लेखा परीक्षण प्रक्रिया भदौ पुगेको केन्द्रीय बैंक अधिकारीहरूको भनाइ छ ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार दसंैतिहार भन्दा अघि गैरस्थलगत निरीक्षण गर्ने तथा आवश्यक तयारी गर्ने योजना केन्द्रीय बैंकको छ ।

‘चाडबाडका कारण बीचमा समय ग्याप हुन सक्ने भएकाले स्थलगत लेखा परीक्षणको काम दसैंपछि मात्र सुरु हन्छ,’ सिग्देलले भने, ‘सुरु गरेपछि समाप्त नहुँदासम्म निरन्तर काम हुनुपर्छ, त्यसैले स्थलगत काम चाडबाड पछि हुन्छ ।’

सबै बैंकको लेखा परीक्षणको काम एकै पटक हुन्छ । त्यसका लागि २२ जना जनशक्ति आवश्यक पर्छ । त्यसका साथै केन्द्रीय बैंकका २ जना कर्मचारी पनि थप समावेश हुनेछन् । हरेक बैंकमा फर्मका २ जना र केन्द्रीय बैंकका २ गरी ४ जनाले काम गर्नेछन् ।

अन्तर्राष्ट्रिय स्तरको बैंकिङ कारोबार गर्ने संस्थाका सन्दर्भमा भन्दा सम्पत्तिको गुणस्तर कमजोर भएका र प्रुडेन्ट बैंकिङ अभ्यास अनुशरण नगरेका बैंकलाई प्राथमिकतामा राखिने केन्द्रीय बैंकले जनाएको छ ।

आईएमएफले नेपाली बैंकिङ क्षेत्रको खराब कर्जाको अंश विश्वास गरिरहेको थिएन । बैंकिङ क्षेत्रले कर्जाको इभर ग्रिनिङ गरेको आरोप लगाउँदै आएको थियो । त्यसका लागिसमेत कोषले केन्द्रीय बैंकलाई चालु पूँजी कर्जा मागर्दर्शन लागु गर्न दबाब दिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours