०३ साउन, काठमाडाैं । कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडाैं महानगरपालिकाले शनिबार परीक्षा लिँदैछ । परीक्षा शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।
महानगरपालिकाको छात्रवृत्ति प्राप्त गर्न १६ हजार १३७ विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन्।
महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन खुला गरेको थियो। जसमा असार २७ गतेसम्म १७ हजार ९२९ जनाले आवेदन दिएका थिए।
आवेदन दिएकामध्ये १६ हजार १३७ जना विद्यार्थी परीक्षाका लागि छनोट भएका महानगरपालिकाले जनाएको छ। देशका ७७ जिल्लाकै विद्यार्थीले छात्रवृत्तिको लागि आवेशन दिएका छन्।
महानगरको शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापन संकायका लागि ४ हजार १६४, मानविकी संकायका लागि ३२ जना, शिक्षा संकायका लागि ९५ जना र कानुन संकायका लागि २५६ जनाले आज छात्रवृत्ति परीक्षा दिँदैछन्।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्ने छ।
परीक्षाको नतिजापछि महानगरले मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गर्नेछ। महानगरको यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन्।
गतवर्ष १२ हजार जनाले आवेदन दिएकोमा ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए। गत वर्षको तुलनामा यसपालि आवेदन दिनेको संख्या करिब ३० प्रतिशतले बढेको छ।
यसपालि कम्तीमा तीन हजार पाँचसय विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने अनुमान महानगरले गरेको छ। विद्यालयहरूमा भर्ना हुने विद्यार्थी संख्याले छात्रवृत्ति प्राप्त गर्नेको संख्या निर्धारित हुन्छ।


+ There are no comments
Add yours