बंगलादेशमा राजनीतिक झडप: हसिनाका समर्थक र सुरक्षाकर्मीबीचको भिडन्तमा चारको मृत्यु, २० पक्राउ

०२ साउन, काठमाडौँ । बंगलादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरू र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको एक दिनपछि प्रहरीले बिहीबार २० जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, बुधबार हसिनाको गृहनगर गोपालगञ्जमा उहाँको अवामी लिग पार्टीका सदस्यहरूले नेशनल सिटिजन्स पार्टी (एनसीपी) को ¥यालीलाई विफल पार्न खोजेपछि झडप भएको थियो। झडप भएको क्षेत्रमा इँटा, ढुङ्गा र फुटेका झ्यालका सिसाहरू यत्रतत्र छरिएका थिए। कर्फ्यु लागू गर्न जिल्लामा १ हजार ५०० भन्दा बढी प्रहरी, सैनिक र सीमा रक्षक परिचालन गरिएको छ।

“गोपालगञ्जमा कानूनी व्यवस्थाको स्थिति अहिले सामान्य बनेको छ र शान्तिपूर्ण छ,” प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाएको छ।

गोपालगञ्ज जिल्ला अस्पतालका निर्देशक जीवितेश विश्वासले बिहीबार झडपपछि चार जनालाई मृत अवस्थामा ल्याइएको बताए। विश्वासका अनुसार अस्पतालअगाडि पनि गोली चलाइएको थियो र कम्तीमा १८ जना घाइतेलाई पनि ल्याइएको थियो। “तीमध्ये तीन जनाको छाती, टाउकोको पछाडिको भाग र खुट्टामा गम्भीर चोट लागेको छ,” उनले बताए।

१८ वर्षीय मिस्त्री रम्जन शेखको गोली लागेर मृत्यु भएको उनका परिवारका सदस्यले एएफपीलाई बताएका छन्। रम्जनका काका मोहम्मद कलिम मुंशीले भने, “तिनीहरूले उनको छातीमा कुल्चेका थिए। जब हामी अस्पताल पुग्यौँ, उनको मृत शरीर रगतले लतपतिएको भेट्टायौँ।” एएफपीले उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेन।

बंगलादेशी सेनाले ’अनियन्त्रित भीड’ लाई नियन्त्रण गर्न प्रहरीसँगै आफ्ना सैनिकले हस्तक्षेप गरेको बताएको छ। “तर, सुरक्षाकर्मीको हस्तक्षेपपछि भीड थप आक्रामक भयो, ढुङ्गा र इँटासहितका सामान फ्याँकेर सेनालाई आत्मरक्षाका लागि बल प्रयोग गर्न बाध्य बनायो,” विज्ञप्तिमा भनिएको छ।

नाम नबताउने शर्तमा गोपालगञ्जका २४ वर्षीय एक युवकले शेख मुजिबुर रहमान (बंगलादेशका संस्थापक राष्ट्रपति र हसिनाका पिता) प्रति कुनै पनि अनादर स्वीकार नगर्ने चेतावनी दिएका छन्। उनले भने, “सरकारको संरक्षणमा नेताहरूले मुजिबुर रहमानविरुद्ध लगातार मानहानि गरिरहेका छन्। उहाँप्रति कुनै पनि अनादर स्वीकारिने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ।”

मानव अधिकारवादी संस्था ऐन ओ सलिश केन्द्रले गोपालगञ्जका जनतामाथि अत्यधिक बल प्रयोग गर्नु र उनीहरूमाथि गोली चलाउनु मानव अधिकारको मापदण्ड र संविधानको ठाडो उल्लङ्घन भएको बताएको छ। बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले एनसीपीको ¥यालीलाई विफल पार्ने प्रयास ’जनताको मौलिक अधिकारको लज्जास्पद उल्लङ्घन’ भएको टिप्पणी गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours