खेलाडीहरू खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ : प्रधानमन्त्री ओली

२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताएका छन् । बुधबार खेलाडी सम्मान कार्यक्रममा कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालले खेलकुदलाई अघि बढाउन थालेको धेरै समय नभएको बताउँदै अरु धेरै देशहरुमा संगठित रुपले खेल अघि बढाएको लामो समय भइसक्दा नेपालमा संगठित रूपपा खेल अघि बढेको धेरै समय नभएको उल्लेख गरेका हुन् ।

खेलाडीहरू अब खेल खेलेरे बाँच्न सकिन्छ भन्ने स्तरमा पुगेको प्रधानमन्त्रीको भनाइ थियो । पहिला व्यवसायिक खेलाडी वा सम्पूर्ण रुपमा खेलमै समर्पित खेलाडी हुनसक्ने स्थिति नरहेकोमा अहिले समर्पित खेलाडी हुनसक्ने परिस्थिति निर्माण भएको उनले बताए । परिणामतः नेपालले सफलता हासिल गर्दै गएको उनले जिकिर गरे ।

‘पछिल्लो समयमा पर्याप्त ध्यान गएको थिएन । अहिले सरकारको पनि ध्यान छ र अब खेलाडीहरू व्यवसायिक रुपमा पनि खेलको अर्थ छ, खेलबाट पनि बाँच्न सकिन्छ जस्ता स्तरमा पुगेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘पहिला व्यवसायिक खेलाडी वा सम्पूर्ण रुपमा खेलमै समर्पित खेलाडी हुनै सक्दैन थियो । अहिले समर्पित खेलाडी हुनसक्छ । यसैले नै सफलता पनि प्राप्त गरिरहेका छौं।’

‘हामी अनेक हिसाबले प्रगति गर्दैछौं । खेलकुद सुविधाको हिसावले पनि हामीसँग जम्मा एउटा दशरथ रंगशाला थियो, फुटबल र केही इण्डोर्स खेलहरुका लागि पनि । तर क्रिकेटले पछि आएपनि धेरै राम्रो सफलता प्राप्त गर्दै गएको छ’ उनले अगाडि थपे ।

प्रधानमन्त्रीले बुधबार बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।
-न्युज एजेन्सी नेपाल

You May Also Like

More From Author

+ There are no comments

Add yours