१५ असार, हेम्जा । देवीस्थान सेवा समाज हेम्जाको आयोजनामा पाँचौं हेम्जा हिले महोत्सव यही असार १५ गते हुने भएको छ। कृषकको चाडका रूपमा मनाइने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।
महोत्सवमा हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाइँ प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमासमूहबीच असारे भाका प्रस्तुति, हिलोमा भाले तथा माछा समाउनेजस्ता परम्परागत र सांस्कृतिक प्रतियोगिता समावेश गरिएका छन्।
समाजका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार हेमजालाई कृषि पर्यटनसँग जोड्दै विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन गर्न, आन्तरिक तथा बाह्य पर्यटन प्रवाह बढाउन र युवाहरूलाई कृषिप्रति आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो। उपाध्यक्ष तथा मूल आयोजक समितिकी संयोजक चन्द्रकला पोखरेलले महोत्सव कृषकको सम्मान र कृषि प्रवर्द्धनमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन्।
‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ आयोजना हुने महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम र कलाकारहरूको प्रस्तुति पनि रहनेछ।
महोत्सवमा प्रथम तथा द्वितीय हुने सहभागीहरूलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महोत्सव सञ्चालनका लागि करिब ९ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष मोहन भण्डारीले जानकारी दिए।
महोत्सवको उद्घाटन वडा नम्बर २५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ। झाँकी व्यवस्थापन संयोजक विष्णु थापाका अनुसार असार १५ गते बिहान ९ः३० बजे विष्णुपादुका माईस्थान मन्दिरबाट सुरु हुने झाँकी देविस्थान मार्ग हुँदै मिलचोक परिकमा गरेर महोत्सव स्थल पुग्नेछ।


+ There are no comments
Add yours