सैनिक कल्याणकारी कोष हिनामिना : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा

२९ वैशाख, काठमाडौँ। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्वजमदार आत्माराम थापा कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा.दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतमा सैनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरिएपछि सो निर्णय आएको हो । उक्त कोष हिनामिना प्रकरणमा संलग्नताको आशंकामा अवकास प्राप्त दुई सैनिक र बहालवाला दुई अधिकृतमाथि अनुसन्धान भइरहेको छ ।

सैनिक स्रोतका अनुसार हाल सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखी आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) प्रक्रिया अघि बढाइएको छ ।

प्रारम्भिक छानबिनमा उनीहरूको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल प्रक्रिया सुरु गरिएको बताइएको छ । सैनिक ऐनले बहालवाला सैनिकमाथि सेनाभित्रै कारबाही गर्ने व्यवस्था गरेकाले उनीहरुलाई सेना मातहत राखिएको हो ।

तर, कानूनी कारबाहीको दायरामा पर्ने दुईजना अवकास प्राप्त सैनिकमाथि भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि पूर्वजमदार थापासहित एक अन्य अधिकारीमाथि पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । यद्यपि, अर्का अवकाशप्राप्त अधिकारी हाल अमेरिका पुगेको खुलेको छ ।

चारैजना सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा मिलेमतोमा सवा २ करोड रुपैयाँ हिनामिना गरिएको आरोप लागेको छ । नेपाली सेनाले आन्तरिक छानबिनको क्रममा आरोप पुष्टि भएपछि सम्बन्धित निकायहरूलाई थप कारबाहीका लागि जिम्मेवारी तोकेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours