०७ वैशाख, काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालले १६३ देशसँग व्यापारमा ११ खर्बको वैदेशिक घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँको घाटा व्यहोरेको हो । गत वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । गत वर्षको तुलनामा व्यापार घाटा ६.४५ प्रतिशतले बढेको हो ।
यता, चालु आवको फागुनसम्ममा नेपालबाट हुने निर्यात ६५.१६ प्रतिशतले बढेको छ । साउनदेखि चैतसम्म नेपालबाट १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ९ महिनाको अवधिमा १ खर्ब १३ करोड ९४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
यता, सोही अवधिमा मुलुकले १३ खर्ब ९५ करोड ३२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । आयात १२।१८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
९ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको भएको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२।५७ प्रतिशत तथा आयातको ८७.४३ प्रतिशत रहेको छ ।


+ There are no comments
Add yours