०१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आगामी जुन ११ देखि लर्ड्स मैदानमा हुन लागेको वर्ल्ड टेस्ट च्याम्पियनसिप २०२३–२५ को फाइनलका लागि पुरस्कार राशी घोषणा गरेको छ। दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच खेलिने यस ऐतिहासिक फाइनलका लागि यो पटक रेकर्ड पुरस्कार राशी तय गरिएको छ।
आईसीसी जानकारी गराएअनुसार कुल पुरस्कार राशी ५.७६ मिलियन अमेरिकी डलर रहनेछ, जुन अघिल्ला दुई संस्करणहरूको तुलनामा दोब्बर बढी हो। विजेता टोलीले ३.६ मिलियन अमेरिकी डलर पाउनेछ भने उपविजेताले २.१६ मिलियन डलर हात पार्नेछ। २०२१ र २०२३ को संस्करणमा विजेताले १६ लाख र उपविजेताले ८ लाख डलर पाउँथे।
यस फाइनल खेलको काउन्टडाउन सुरु गर्न आईसीसीले विशेष प्रचार भिडियो पनि सार्वजनिक गरेको छ। भिडियोमा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बावुमा, स्टार बलर कगिसो रबाडा, ब्याटर एडन मार्करम, अष्ट्रेलियाका स्टिभ स्मिथ र ट्राभिस हेड को साथमा पूर्व महान खेलाडीहरू शन पोलक, डेल स्टेन, म्याथ्यु हेयडन, मेल जोन्स, नासिर हुसेन, शोएब अख्तर र रवि शास्त्री समेत देखिएका छन्। भिडियोले खेलप्रतिको उत्साहलाई झनै बढाएको छ।
दक्षिण अफ्रिकाले यसपटक शानदार प्रदर्शन गर्दै पहिलो टोलीको रूपमा फाइनलमा स्थान सुरक्षित गर्यो। पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश र श्रीलंकामाथि सिरीज जित्दै तथा भारतसँग सिरीज बराबरी गर्दै उनीहरू शीर्ष स्थानमा रहे।
अर्कोतर्फ, अष्ट्रेलियाले भारतविरुद्ध ३-१ को शानदार जित हासिल गरेपछि फाइनलमा स्थान बनायो। साथै, पाकिस्तानमाथि घरेलु सिरीजमा ३-० को जित, न्युजिल्यान्ड र श्रीलंकाविरुद्ध सिरीज जित्दै फाइनलसम्म पुगे।
अब दुवै टोली इंग्ल्यान्डको ऐतिहासिक लर्ड्स मैदानमा उपाधिका लागि भिड्न तयार छन्। जुन ११, २०२५ मा सुरु हुने यो एकमात्र टेस्ट विश्व विजेताको निर्णय गर्नेछ।


+ There are no comments
Add yours