चिलिमे सुरुङमा खोजी जारी

२५ भदौ, काठमाडौँ। भोटेकोशी बाढीले तहसनहस पारेको रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेना र विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली १४० मिटरसम्म प्रवेश गरी बेपत्ताको खोजीमा जुटेको छ । सुरुङभित्र जमेको दलदल, चट्टान र अन्य अवरोध हटाउँदै खोजीलाई तीव्र पारिएको छ भने भारी उपकरण पुर्‍याउन पहुँचमार्ग निर्माणको कामसमेत अगाडि बढाइएको छ ।

भदौ १० गते बाढी आएको दिन नै नेपाली सेनाको टोली घटनास्थलमा पुगेर प्रारम्भिक रेकी गरेको थियो । त्यसपछि सुरुङको प्रवेशविन्दुमा जमेको दलदल हटाउँदै भित्र प्रवेश गर्दा सेनाको टोलीले दुई जनाको शव फेला पारेको थियो । उक्त सुरुङभित्र खोज तथा उद्धारमा नेपाली तथा भारतीय सेनाका विशेषज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरुङभित्रको खोजीमा आधुनिक प्रविधिसमेत प्रयोग गरिएको छ । ड्रोनबाट गरिएको खोजीमा हालसम्म थप कुनै व्यक्ति वा शव फेला नपरेको पनि सेनाले जनाएको छ ।

सुरुङसम्म भारी उपकरण पुर्‍याउने तथा सडक खुलाउने काममा तीव्रता दिइएको छ । त्यहाँ भारी उपकरण लैजान करिब ५० मिटर सडक निर्माण गर्न बाँकी रहेकाले करिब २५ मिटर चट्टानी भूभाग ब्लास्टिङ गरी हटाउन थालिएको सेनाले जनाएको छ । खोज तथा उद्धारबारे जानकारी गराउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आवतजावत सहज बनाउन डोरी (रोप) टाँगिएको र अन्य जलविद्युत् आयोजनाका सुरुङमा पनि खोज तथा उद्धारलाई समानान्तर रूपमा अघि बढाएको जनाइएको छ । त्यसै गरी रसुवागढी, भोटेकोशी, लामटाङ, माथिल्लो त्रिशूली–१ को हाकुबेँसीस्थित अडिट–३ टनेललगायतमा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेका छन् ।

त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली परिचालन गरिएको छ । त्रिशूली–३ ‘बी’ मा पनि नेपाली सेनाका ८७, नेपाल प्रहरीका चार र सशस्त्र प्रहरी बलका १० जनासहितको टोलीले तीन वटा एक्साभेटर प्रयोग गरी उत्खनन गरिरहेको छ ।

उद्धारसँगै पुनर्निर्माण

नेपाली सेनाले खोज तथा उद्धारसँगै बाढीले क्षति पुर्‍याएका पूर्वाधार पुनस्र्थापनालाई पनि तीव्रता दिएको छ । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजका ५५ जना परिचालन गरी पुल निर्माण भइरहेको छ । रसुवा र नुवाकोटका कोलोनी, तुप्चे, दानसिङ, सामरीभन्ज्याङ, मैलुङ र स्याफ्रुबेँसीलगायत क्षेत्रमा पैदल गस्तीमार्फत खोजी भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours