सीमावर्ती सहर र आसपासका गन्तव्यबाट छोटो अवधिका लागि केही पर्यटक आए पनि प्याकेजमा घुम्न आउने विदेशी र स्वदेशी आगन्तुक स्वाट्टै घटे
२२ भदाै, काठमाडौँ । दुई साताअघि भोटेकोशीमा आएको बाढीको असर मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा पनि पर्न थालेको छ । चाडपर्व सुरु भइसकेकाले धेरैजसो होटलमा पर्यटकले बुकिङ र जमघटका कार्यक्रम तय गरेका थिए । धेरै होटलले तीज लक्षित अफर ल्याएका थिए । प्रकोपका कारण नेपाल सुरक्षित नरहेको खबर फैलिएपछि आन्तरिक र बाह्य पर्यटकले पोखरा, चितवन र लुम्बिनीका होटलमा बुकिङ रद्द गरेका छन् । बाटोघाटो सहज नभएकाले आन्तरिक पर्यटकले पनि घुम्ने योजना लत्याएका छन् । जसले पर्यटकीय याममै होटल सुनसान बनेका छन् ।
चितवनको सौराहा यतिबेला पर्यटकले भरिभराउ हुने समय हो । यस पटक सौराहामा छिटफुट पर्यटक देखिन्छन् । अहिले होटलमा ५ प्रतिशतभन्दा कम अकुपेन्सी रहेको क्षेत्रीय होटल संघले जनाएको छ । ‘अहिले पर्यटक नै छैनन्,’ क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने, ‘यहाँका होटलमा ५ प्रतिशतभन्दा कम अकुपेन्सी छ ।’
घिमिरेको जंगल सफारी लजमा ३४ कोठा छन् । तर बुकिङ रद्द भएपछि अहिले अधिकांश कोठा खाली रहेको उनले बताए । कृष्णभीर बाढीले भासिएपछि स्थलमार्गबाट पर्यटक चितवन आएका छैनन् । भोटेकोशी बाढीले चितवनमा क्षति नपुर्याए पनि ट्राभल एडभाइजरीमा नेपालबारे नराम्रा खबर फैलिएकाले समस्या आएको घिमिरेको भनाइ छ । ‘पूर्व–पश्चिम राजमार्गमा समस्या छैन,’ उनले भने, ‘नेपालको अवस्था भयावह भनेर अन्तर्राष्ट्रियस्तरमा खबर फैलिएकाले पर्यटन क्षेत्र मारमा परेको छ ।’
मुग्लिन–काठमाडौं सडक खण्डको विकल्पमा मकवानपुरको हेटौंडा–काठमाडौं (कान्ति लोकपथ), त्रिभुवन राजमार्ग र हेटौंडा–कुलेखानी सडक सञ्चालनमा छन् । यी मार्गबाट पर्यटक आउन सक्छन् । काठमाडौं–भरतपुर हवाई यात्रा गरेर पर्यटक आउन समस्या छैन । केटीएम हस्पिटालिटीअन्तर्गतको रोयल टुलिप चितवन होटलमा ६५ वटा कोठा छन् । हालसम्म ८० प्रतिशत बुकिङ रद्द भइसकेको रोयल टुलिपका अध्यक्ष रामेश्वार साहले बताए ।

‘बाढीले पर्यटन क्षेत्र गम्भीर मारमा परेको छ,’ साहले भने, ‘मुलुकका गन्तव्यमा बाढीको प्रभाव नभए पनि नेपालबारे फैलिएको अफवाहले पर्यटक आइरहेका छैनन् ।’ ५० प्रतिशत आन्तरिक र ३० प्रतिशत विदेशीले बुकिङ रद्द गरेको साहको भनाइ छ । होटलमा कन्फ्रेन्स, सेमिनार, विभिन्न संघसंस्थाको बैठकका लागि गरिएका बुकिङसमेत रद्द भएका छन् ।
सौराहामा एकै दिन ८ हजार पर्यटक अट्ने क्षमताका १ सय २५ साना–ठूला होटल छन् । सबै होटल पर्यटकको पर्खाइमा छन् । भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्र प्रभावित बनेको क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलियाले जनाए । ‘पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको छ, सौराहामा छिटफुट चिनियाँ बाहेक पर्यटक छैनन्,’ उनले भने, ‘धेरै होटलको अकुपेन्सी १ प्रतिशत पनि छैन ।’
पटिहानी र मेघौलीस्थित ठूला होटल पर्यटकको पर्खाइमा छन् । भरतपुरको पटिहानीस्थित सोल्टी वेस्टेन्ड चितवन रिसोर्टमा बाढीपछि पर्यटक देख्नै मुस्किल छ । अहिले रिसोर्टको अकुपेन्सी ५ प्रतिशत रहेको महाप्रबन्धक चोपलाल पाण्डेले बताए । ‘अहिले विदेशी पर्यटकबाट धमाधम बुकिङ रद्दको मेसेज आइरहेको छ,’ उनले भने, ‘बुकिङमध्ये ४० प्रतिशत रद्द भइसकेको छ, नोभेम्बरसम्मको बुकिङ पनि रद्द गर्न थालेपछि चिन्ता बढ्यो ।’
पर्यटकीय नगरी कास्कीको पोखरा पनि यसबाट अछुतो रहेको छैन । भोटेकोशी बाढी र कृष्णभीरमा पृथ्वी राजमार्ग कटानले पोखराको पर्यटनमा चुनौती थपेको पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल बताउँछन् । ‘विदेशी पर्यटकका लागि पर्यटकीय याम सुरु भएको छ,’ उनले भने, ‘तर अहिले होटलका ३० प्रतिशतसम्म बुकिङ रद्द भएको अवस्था छ ।’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि जहाज भाडा बढेको, पोखरा–काठमाडौं पर्याप्त हवाई उडान नभएको र विदेशी पर्यटकलाई अझै पनि डलर भाडादर कायम हुँदा पोखराको पर्यटनमा प्रत्यक्ष असर पुगेको उनले जनाए ।
सुनौलीबाट पोखरा हुँदै मुक्तिनाथ पुगेर पशुपतिनाथ जाने भारतीय पर्यटकको आगमनमा पनि कृष्णभीर कटानले असर पुगेको उनले सुनाए । ‘पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिले जहाज भाडा महँगो हुँदा आन्तरिक पर्यटकको आगमनमा पनि कमी हुने देखिन्छ,’ उनले भने, ‘यद्यपि विदेशी पर्यटकका लागि बाढी आएका स्थानबाहेक अन्यत्र सुरक्षित छ भन्ने सन्देश दिन जरुरी छ ।’

अहिले बुद्ध जन्मस्थल लुम्बिनी पनि पर्यटकविहीन हुन थालेको छ । काठमाडौं हुँदै लुम्बिनी आउने विदेशी पर्यटकले होटलका बुकिङ रद्द गरिरहेको लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले बताए । मुख्य सिजन अक्टोबर–नोभेम्बरका लागि गरिएका बुकिङ रद्द भइरहेको उनको भनाइ छ । बाढीका कारण समग्र नेपाल नै प्रभावित भएजस्तो गरी विदेशमा सूचना प्रवाह हुँदा बुकिङ रद्द गरिएको उनले जनाए ।
‘मुग्लिन–काठमाडौं सडकका एक/दुई ठाउँमा सडक भासिएकाले काठमाडौं आउजाउ समस्या भएको हो,’ उनले भने, ‘त्यो पनि सहज हुँदै छ ।’ सरकारले अग्रसरता लिएर नेपालस्थित विदेशी दूतावास र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत मुलुकको अवस्था सहज बन्दै गएर विदेशी पाहुनालाई स्वागत गर्न आतुर रहेको सन्देश दिनुपर्ने लुम्बिनीस्थित होटल सुरम्माका सञ्चालक खिम श्रेष्ठले बताए ।
लुम्बिनीस्थित चारतारे बुटिक होटल होक्केमा दुई महिनाका लागि विभिन्न मितिमा गरिएका एक सय नाइट बुकिङ रद्द भएको अपरेसनल म्यानेजर भवीश्वर अधिकारीको भनाइ छ । मुलुकमा सहज अवस्था रहेको बारे तत्काल सरकारले अन्तर्राष्ट्रियस्तरमा सन्देश दिन नसके पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुने उनले जनाए ।
लुम्बिनीका अन्य होटलमा पनि बाढीका कारण पाहुनाले होटल बुकिङ रद्द गरिरहेको होटल संघले बताएको छ । राम्ररी सूचना प्रवाह गर्न नसक्दा समस्या भइरहेको शाक्य गेस्ट हाउस सञ्चालक प्रकाश भट्टराईको भनाइ छ । ‘एक/दुई ठाउँमा बाटोमा देखिएको समस्यालाई ठूलो आधार बनाउन नहुने हो,’ उनले भने, ‘स्थानीयदेखि संघीय सरकारले सूचनासँगै मर्मतसम्भारको कामलाई प्राथमिकता दिएर पर्यटन क्षेत्र चलायमान बनाउनुपर्छ ।’
रूपन्देहीको बेलहियालगायत नाका हुँदै विभिन्न गन्तव्य भ्रमणका लागि प्याकेजमा आउने भारतीय पर्यटक प्रभावित बनेको होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जनाए । ‘लुम्बिनी हुँदै पोखरा, काठमाडौं, चितवनलगायत गन्तव्य घुम्न प्याकेजमा आउने पर्यटकले बुकिङ रद्द गरेका छन्,’ उनले भने, ‘यसरी आउने पर्यटकले शतप्रतिशत बुकिङ रद्द गरेका हुन् ।’
भारतीय पर्यटक उच्च हिमाली भेगमा रहेका धार्मिक धाम घुम्न आउँछन् । अहिले हिमाली क्षेत्रमा बाढीले तहसनहस गरेको खबरपछि बुकिङ रद्द गरेको बुझिएको छ । सीमावर्ती सहर र आसपासका गन्तव्यमा छोटो अवधिका लागि पर्यटक आए पनि प्याकेजमा घुम्न आउने स्वाट्टै घटेको श्रेष्ठले बताए । ‘नेपालको पर्यटनलाई गम्भीर धक्का लागेको छ,’ उनले भने, ‘कसरी पर्यटक भित्र्याउने भन्ने चिन्ताको विषय बनेको छ ।’
हवाई यात्राको भर
पोखराबाट संघीय राजधानीका लागि सञ्चालन हुँदै आएका पर्यटकीय बस थन्किएपछि हवाई यात्रु तीन गुणाले बढेका छन् । कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पोखरा–काठमाडौं चल्ने १ सय ५० बस थन्किएका हुन् ।
९ भदौमा पोखरा–काठमाडौं रुटमा १ हजार ३ सय यात्रु ओहोरदोहोर गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदी बताउँछिन् । १० भदौको बाढी र उक्त बाढीका कारण त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर कटान गरेका कारण हवाई यात्रुको चाप बढेको छ । शुक्रबार बुद्धका २८, यतीका १८ र श्री एयरलाइन्सका ४ उडानमा ३ हजार ५ सयभन्दा बढी यात्रु पोखरा–काठमाडौं ओहोरदोहोर गरे ।
‘पृथ्वी राजमार्ग राम्रो बनेपछि जहाजको लोड घटेको थियो, एयरलाइन्सले मर्ज गरेर उडान भर्थे, या त थोरै प्यासेन्जर लिएर उड्थे,’ उनले भनिन्, ‘अहिले अक्युपेन्सी बढेको छ, जहाज भरिभराउ छन् । टिकट पाउन गाह्रो छ ।’ पोखरा–काठमाडौं रुटमा दसैं, नयाँ वर्षलगायत समयमा दिनहुँ ४ हजार ४ सयसम्म यात्रु ओहोरदोहोर गरेको रेकर्ड रहेको उनले सुनाइन् ।
बिहानदेखि र रातिसम्म यात्रुको चहलपहल हुने पोखराको मुस्ताङचोकमा रहेको पर्यटक बसपार्क सुनसान छ । बसपार्कबाट बिहान २४ र राति ८ बस काठमाडौंका लागि छुट्थे । पृथ्वीचोकबाट १४, लामाचौरबाट ८, हेमजाबाट २ र जिरोकिलोमिटरबाट २ वटा पर्यटक बस छुट्ने गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका मुस्ताङचोक शाखाका कर्मचारी बुद्धिसागर पौडेलले जनाए । अहिले चितवन र लुम्बिनी जाने पर्यटक बस मात्रै चलेका छन् ।
कृष्णभीर छल्ने गरी वैकल्पिक मार्गको पनि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले शनिबार अवलोकन गरेको छ । कृष्णभीरबाट झोलुंगे पुल तरेर पारिपट्टि ज्यामिरे पुग्ने र त्यहाँबाट ११ किलोमिटर छिचोलेर बेनीघाट निस्कने बाटोको नाट्टा गण्डकीले अध्ययन गरेको संस्थाकी अध्यक्ष संगीता पौडेलले बताइन् । उनका अनुसार कृष्णभीरसम्म पोखराका पर्यटक बसले यात्रु लैजाने, त्यहाँबाट यात्रुलाई हिँडाएर ज्यामिरेसम्म झोलुंगे पुल तार्ने, ज्यामिरेबाट जिपमा ११ किलोमिटर यात्रा गराएर पृथ्वी राजमार्गको बेनीघाट निकाल्ने र बेनीघाटबाट काठमाडौंतर्फबाट आएका पर्यटक बसबाट लैजाने सम्भावनाको अध्ययन नाट्टा गण्डकीले गरेको हो ।
‘अहिले कृष्णभीरमा डाइभर्सन ट्र्याक बनिरहेको छ, एक सातामा सञ्चालनमा आउने भनिएको छ,’ पौडेलले भनिन्, ‘सञ्चालनमा आएपछि पनि कति समय थेग्छ भन्ने यकिन छैन । लामो समय सञ्चालनमा नआउने हो भने ज्यामिरे–बेनीघाट मार्ग विकल्प हुन सक्छ ।’ हेटौंडाबाट नौबिसे निस्कने त्रिभुवन राजपथबाट ठूला सवारी नजाने भएकाले विकल्प खोजिएको पौडेलले सुनाइन् । पर्यटक सवारी नचल्दा झन्डै एक हजार व्यवसायी र मजदुरलाई प्रत्यक्ष असर गरेको पौडेलको भनाइ छ । ‘पर्यटकीय सिजनको मुखमै यस्तो हुँदा पोखराको पर्यटनमा असर पर्ने देखिन्छ,’ उनले भनिन् । पोखरा–काठमाडौं चल्ने पर्यटक बस १ सय ५० को संख्यामा भए पनि ती बस नचल्दा अन्य साना तथा मझौला पर्यटक सवारीले पनि यात्रु नपाएको उनले सुनाइन् ।
चितवनको भरतपुर विमानस्थलमा पनि यात्रुको चाप बढेको छ । राजमार्ग अवरुद्ध बनेपछि बुद्ध एयरले भरतपुरमा उडान थप गरेर यात्रुलाई सेवा दिइरहेको छ । यात्रुको चाप बढेसँगै उडान संख्या वृद्धि गरिएकाले केही सहज बनेको बुद्ध एयरका भरतपुर विमानस्थल प्रमुख भक्तबहादुर बस्नेत बताउँछन् ।

‘यात्रुको चापअनुसार उडान थप गरेर सहजीकरण गरिरहेका छौं,’ उनले भने, ‘अति आवश्यक परेका यात्रु मात्रै आउने भएकाले व्यवस्थापनमा सहज भइरहेको छ ।’ यात्रुको आवश्यकताका आधारमा उडान संख्या थप गरिरहेको उनले जनाए । शुक्रबार चितवन–काठमाडौं बुद्ध एयरका ८ उडान भएका थिए । बिहीबार ११ वटा उडान भएका थिए । शनिबार पनि ८ उडान भएको बस्नेतको भनाइ छ । स्थानीयका अनुसार अहिले हवाई टिकटका लागि दुई दिनअघिबाट बुकिङ गर्नुपर्ने बाध्यता छ । भरतपुर विमानस्थलबाट बुद्ध एयरको एटीआर ७२ जहाजले नियमित उडान गरिरहेको छ ।
रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यात्रुको चाप बढेको छ । विमास्थलका अनुसार तीन/चार दिनअघिसम्म टिकट पाउनै मुस्किल थियो । मकवानपुर हुँदै काठमाडौं यात्रा गर्न सकिने भएपछि टिकटका लागि मारामार छैन । चितवन र भैरहवाबाट संघीय राजधानी ओहोरदोहोर गर्ने पर्यटकीय र सुविधायुक्त बस सञ्चालन नभएपछि यात्रुको चाप विमानस्थलमा बढेको हो । सडकमा समस्या भएपछि धेरै सर्वसाधारणले हवाई यात्रा रोजेकाले पनि चाप बढेको हो ।
भैरहवाबाट नियमित उडान गरिरहेका बुद्ध र यती एयरलाइन्सले उडान संख्या थपेकाले पनि सहज भएको विमानस्थलले जनाएको छ । यात्रुको चाप रहेको भैरहवास्थित यती एयरलाइन्सका स्टेसन प्रमुख अनुप ढकालले बताए । ‘सडक खुलेपछि तीन/चार दिनअघिको जस्तो समस्या छैन,’ उनले भने, ‘अहिले यात्रुले खोजेका बेला टिकट पाइरहेका छन् ।’ शुक्रबार र शनिबार बिदा भएकाले पनि चाप कम देखिएको हो ।
बाढीपहिरोपछि आन्तरिकतर्फ हवाई यात्रामा चाप बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलका प्रवक्ता कुमार सुजखुको भनाइ छ । उनका अनुसार यात्रु बढेपछि बुद्ध एयरले भैरहवामा तीनवटा उडान थप गरेको थियो । त्यस्तै यती एयरले दुईवटा उडान थपेर सेवा प्रदान गरिरहेको छ । श्री एयरलाइन्सले केही उडान थप गरेको प्रवक्ता सुजखुले जनाए । ‘विमान कम्पनीले फ्लाइट थपेर भए पनि यात्रुलाई सेवा पुर्याइरहेका छन्,’ उनले भने, ‘तीन/चार दिनअघिको जस्तो जहाजको टिकट नपाउने अवस्था अहिले छैन ।’
‘लुम्बिनी सुरक्षित र खुला’
भोटकोशी बाढीले मुलुक असहज अवस्थामा रहेका बेला शान्तिको उद्गमस्थल लुम्बिनी पूर्ण रूपमा सुरक्षित र खुला रहेको लुम्बिनी विकास कोषले बताएको छ ।

बाढी र विपद्ले लुम्बिनी क्षेत्रमा कुनै असर नपारेको उल्लेख गर्दै राहत, उद्धार र सहयोगका बेला बुद्धको करुणा, मैत्री र सद्भावको भावना उत्तिकै सान्दर्भिक भएकाले शान्तिमय ऊर्जा प्राप्तिका लागि लुम्बिनी भ्रमण फलदायी हुने कोषले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । ‘हालैको बाढीले बृहत्तर लुम्बिनी क्षेत्रमा कुनै असर पुर्याएको छैन । लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम तथा अन्य प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित र आगन्तुकका लागि सहज रूपमा पहुँचयोग्य रहेको कोषका निमित्त सदस्य–सचिव हिमाल उप्रेतीले बताए । ‘भोटेकोशी बाढीले सम्पूर्ण नेपालमा त्रास र सकसपूर्ण वातावरण छ भन्ने खालको नकारात्मक सन्देश प्रवाह भएको छ,’ उनले भने, ‘त्यसैले लुम्बिनीमा भने कुनै समस्या छैन भनेर अन्तर्राष्ट्रिय समुदायमा सन्देश प्रवाह गर्नु परेको हो ।’ प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा स्थल, तीर्थस्थल तथा पर्यटन सेवाहरू सदाजस्तै सञ्चालनमा रहेको कोषको भनाइ छ ।
विशेषगरी भारतलाई ट्रान्जिट बनाएर र भारतीय ट्राभल एजेन्सीमार्फत आउने विदेशी पर्यटकलाई समस्या परेको छैन । उनीहरूको होटल बुकिङ यथावत् छ । यस्तो परिस्थितिमा आउने स्वदेशी विदेशीले प्राकृतिक विपत्तिबाट उन्मुक्ति हुने रतन सूत्र र बिरामी भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै सप्त बोझाङ पाठ गरेर शान्तिको कामना गर्ने गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी बजिरले बताए । लुम्बिनी धेरै पर्यटक आउने गन्तव्य हो । बर्सेनि यहाँ ११ देखि १५ लाख पर्यटक घुम्न आउँछन् ।
राजु चौधरी (चितवन), दीपक परियार (पोखरा), दीपेन्द्र बडुवाल (भैरहवा) र मनोज पौडेल (लुम्बिनी)काे रिपोर्टिंग


+ There are no comments
Add yours