बाढीपीडितलाई आर्थिक सहयोग जुट्ने क्रम जारी

२० भदौ, कास्की । पोखरा महानगरपालिका-७ मासबारस्थित मदरल्याण्ड सेकेण्डरी स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयले भोटेकोशी बाढी प्रभावितका लागि आठ लाख १५ हजार ५५५ सहयोग गरेका छन् । बाढीपीडितको उद्धार तथा राहतका लागि ‘काइन्डनेस क्लब मदरल्याण्ड’को सक्रियतामा उक्त रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्राचार्य डा नारायण बरालले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम सङ्कलन गरिएको उहाँले बताउनुभयो । बरालले भन्नुभयो, “प्राकृतिक विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो ठाउँबाट सहयोग गर्नु सबैको सामाजिक दायित्व हो । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय परिवारको सानो प्रयासले पनि पीडितलाई केही राहत पुग्ने विश्वासका साथ हामीले यो सहयोग रकम जुटाएर जम्मा गरेका छौँ ।”

मष्टा गाउँपालिकाद्वारा २२ लाखभन्दा बढी सहयोग

बझाङको मष्टा गाउँपालिकाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ४६ हजार १७९ जम्मा गरेको छ ।

विपदका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुः ख व्यक्त गर्दै प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा सहयोग गरेको गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले जानकारी दिनुभयो । गाउँपालिकाको निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक तथा कर्मचारी र गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट रकम सहयोग गरिएको हो ।

तनहुँका निर्माण व्यवसायी सङ्घद्वारा एक लाख सहयोग

निर्माण व्यवसायी सङ्घ तनहुँले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार सहयोग गरेको छ । राष्ट्रिय विपदको कठिन घडीमा पीडितको पीडामा साथ दिने सामाजिक उत्तरदायित्व स्वरूप सहयोग रकम प्रदान गरिएको सङ्घका कोषाध्यक्ष सुरेश घिमिरेले जानकारी दिनुभयो ।

खुत्रुकेको रकम बाढीपीडितलाई

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन: स्थापनाका लागि तनहुँकी एक बालिकाले अनुकरणीय सहयोग गरेकी छन् । व्यास नगरपालिका-१२, छाब्दीस्थित छाब्दी बाराही आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा कृति आलेले आफ्नो खुत्रुकेमा जम्मा भएको १० हजार ७०० बाढीपीडितको सहयोगका लागि प्रदान गरेकी छिन् ।

कृतिको यो सहयोग रकमका हिसाबले सानो देखिएपनि भावना र मानवीय संवेदनाका दृष्टिले निकै ठूलो रहेको विद्यालयले जनाएको छ । आफ्नो खुत्रुके फुटाएर विपदमा परेका परिवारको दुःखमा साथ दिने उनको कदमले बालबालिकामा समेत सामाजिक उत्तरदायित्व र मानवीय भावनाको उदाहरण प्रस्तुत गरेको विद्यालयका प्रधानाध्यापक गोमबहादुर रानाले बताउनुभयो ।

आर्थिक सहयोग जुटाउँदै स्थानीय तह

आज पर्साका स्थानीय तह, विभिन्न सामाजिक सङ्घसंस्था, व्यवसायी तथा समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् । बाढीपीडितको खोज, उद्धार तथा राहतका लागि यहाँका स्थानीय तहका साथै सामाजिक सङ्घसंस्थाले रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उपलब्ध गराउँदै आएका हुन् ।

वीरगञ्जका सुनचाँदी व्यवसायी नीरज सर्राफ, साउथ जोन माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेका छन् भने जेनजी पर्साको टोलीले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सङ्कलन गरेको रकम भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । रासस

You May Also Like

More From Author

+ There are no comments

Add yours