०६ साउन, काठमाडौँ । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात प्रभावित भएको छ।
केही स्थानमा सडक पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ। बाढीको जोखिमका कारण केही राजमार्गमा रातको समयमा सवारी चलाउन रोक समेत लगाइएको छ।
कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (राजदुवाली खण्ड) पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, पाँचथरको राँके-रवि-भेडेटार सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ। भोजपुर र खोटाङमा भने मध्य पहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी मात्र सुचारु रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै मुख्य राजमार्गहरूमा समय तोकेर सवारी रोकिएको छ। विपी राजमार्गको काभ्रे खण्डमा बाढीको सम्भावनाका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। यस्तै, कान्ति लोकपथको मकवानपुर खण्डमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।
सिन्धुपाल्चोकमा अरनिको राजमार्गको जिरोकिलो र कोदारी खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध पारेको छ भने रसुवाको पासाङ ल्हामु सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा छ।
गण्डकी प्रदेशको बागलुङमा कालीगण्डकी करिडोर र गोरखाको आरुघाट-माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। कर्णाली प्रदेशको जाजरकोटमा पनि भेरी करिडोर (जाजरकोट-डोल्पा सडक) पहिरोले गर्दा पूर्ण रूपमा बन्द भएको छ।
पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहे पनि मौसम प्रतिकूल हुँदा समस्या भइरहेको छ। प्रहरीले लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा राजमार्ग नियन्त्रण कक्षमा सम्पर्क गरेर सडकको अवस्था बुझ्न यात्रुहरूलाई आग्रह गरेको छ।


+ There are no comments
Add yours