कसले सिर्जना गरायो ‘गाडी आतंक’ ?

निष्पक्ष छानबिन गर्न सरोकारवाला र पार्टी नेताको माग

२९ असार, काठमाडौँ । विभिन्न संचारमाध्य, नेताका घर र बिजेनस सेन्टर अगाडि अन्य गाडी आवतजावत गर्न नमिल्ने गरी ‘बेवारिसे गाडी’ छाडिएको घटनाले सोमबार दिनभर मनोवैज्ञानिक आतंक सिर्जना भयो ।

कान्तिपुर, अनलाइनखवर, हिमालय टीभी, कांग्रेस सभापति गगन थापा र हनुमानस्थान नजिकैको भाटभटेनी सुपरमार्केट अगाडि बेवारिसे गाडी पार्किङ गरेर चालक फरार भएका थिए । एकपछि अर्को स्थानमा यसरी पार्किङ गरेर चालक फरार भएपछि ती स्थानका गाडी ट्राफिक प्रहरीले क्रेनमार्फत हटाएको थियो ।

यस घटना गराएर सञ्चारमाध्यममाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्न खोजिएको भन्दै यसको अहिले सरोकारवालाहरूले विरोध गरिरहेका छन् । यसरी गाडी छाड्ने काममा सरकार समर्थित पार्टीका नेता कार्यकर्ताहरूकै संलग्नता रहेको आशंका गरिए पनि अनुसन्धानकारी निकायले अहिलेसम्म केही खुलाएको छैन ।  

बेवारिसे गाडी आतंकप्रति नेपाल पत्रकार महासंघ र विभिन्न राजनीतिक दलका नेताहरूले चर्को विरोध गर्दै निष्पक्ष छानबिन गर्न माग गरेका छन् । महासंघले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध तथा आतंक सिर्जना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले उक्त घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न तथा अवरोध तत्काल हटाउन सम्बन्धित निकायसँग माग गरेको थियो । साथै घटनाको तत्काल छानबिन गरी संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न पनि महासंघले सरकार तथा सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र सत्तारुढ दल रास्वपाले समेत उक्त घटनाबारे चासो देखाएका छन् ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सञ्चारमाध्यमका मुख्य गेटहरूमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै यसको निष्पक्ष र विश्वसनीय छानबिन गर्न माग गरेकी छन् । सञ्चार क्षेत्रलाई प्रत्यक्ष प्रभावित पार्ने गरी भएको यस घटनाको सत्यतथ्य पारदर्शी रूपमा सार्वजनिक हुनुपर्ने थापाको भनाइ छ । 

सामाजिक सञ्जाल फेसबुकमा प्रमुख सचेतक थापाले थापाले सहरी क्षेत्रमा अव्यवस्थित पार्किङ आम समस्याका रूपमा रहे पनि सञ्चारमाध्यमका मुख्य प्रवेशद्वारमै सवारी साधन तेर्‍स्याइनुले स्वाभाविक प्रश्नहरू उब्जाएको बताएकी छन् । ‘उक्त सवारीसाधन त्यहीँ किन र कसले पार्क गर्‍योरु यो केवल संयोग मात्र थियो वा यसको पछाडि कुनै उद्देश्य लुकेको छ,’ थापाले प्रश्न गरिन् । मिडिया संस्थाहरू प्रत्यक्ष प्रभावित हुने स्थान नै रोजिनुले घटनाको नियतमाथि आशंका गर्ने ठाउँ दिएको उनको भनाइ छ ।

नेता थापाले यी गम्भीर प्रश्नहरूको उत्तर केवल अनुमान, आशंका वा हल्लाका आधारमा नभई राज्यका जिम्मेवार निकायहरूको निष्पक्ष अनुसन्धानबाट आउनुपर्ने माग गरेकी छन् । घटनाको यथार्थ विवरण पारदर्शी ढंगले सार्वजनिक हुँदा मात्र नागरिकमा भ्रम नजन्मिने र राज्यका संयन्त्रहरूमाथिको जनविश्वास सुदृढ हुने उनको भनाइ छ ।  

त्यस्तै नेकपा एमालेका सचिव महेश बस्नेतले गणेश नेपालीले आत्मदाह गर्नु ठीक थियो नभनेकै कारण बालेन सत्ताले पत्रकारहरूसँग प्रतिशोध साँध्दै विभिन्न बहानामा मिडिया हाउसको गेटमा शंकास्पद गाडी छोडेर अवरोध सिर्जना गरेको बताएका छन् ।

‘सरकार ! मेरो देशमा के हुन लागिरहेको छ ? प्रेस स्वतन्त्रता लोकतन्त्रको मुटु हो । स्वतन्त्र प्रेसलाई दबाउने, त्रसित बनाउने वा प्रतिशोधको माध्यम बनाउने प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउँछ’, एमाले सचिव बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आलोचना सुन्न नसक्ने र असहमतिलाई दबाउन खोज्ने कुनै पनि सत्ताले लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्न सक्दैन ।’

नेता बस्नेतले बालेनको अधिनायकवादी प्रवृत्तिले प्रेस स्वतन्त्रताको महत्व कहिले बुझ्ने होला ? बस्नेतले प्रश्न गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सरल सहयात्री (पौडेल)ले सोमबार बिहानदेखि सञ्चारगृह, छानिएका ठाउँ र व्यक्तिलाई लक्षित गरी बेवारिसे तरिकाले शंकास्पद गाडी राखेर मूल बाटो छेकेर आतंक मच्चाउनु कुनै चलचित्रको ‘अण्डरवर्ल्ड डन’ को सांकेतिक धम्कीभन्दा फरक नभएको बताएका छन् ।

‘देश यतिबेला एउटा यस्तो हरर् चलचित्र गृहजस्तो बनेको छ, जहाँ नायक र खलनायक एउटै संस्थाका दुइथरी‘पात्र’ छन् । एउटाले नागरिकलाई तर्साउछ, अनि अर्को सान्त्वना दिए जस्तो गर्छ !’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकाथरी सैनिकसहित बस्तीमा डोजर चलाएर उठिवास लगाउछ, अनि अर्को दुइचार किलो चामल  वोकेर  खाना खुवाउन कुदाकुद गर्छ ! परिस्थिति आफैंलाई आगो झोसेर आत्मदाह गर्न बाध्य हुने बनाउछ, अनि मन्त्री वरीपरी क्यामेरा बोकार मरिसकेको मान्छेलाई उपचार गर्न कुदाकुद गर्छ र संसदको रोष्टममा उभिएर गोहीको आँशु झार्छ !’ पौडेलले नागरिक रंगमञ्चको यही तमासा हेरिरहन बाध्य भएको पनि बताएका छन् ।

‘यति धेरै गाडी बेवारिसे छाडेर आतंक सिर्जना गर्ने हिम्मत कसको हो ? नेपथ्यको पर्दा खुल्न धेरै समय लाग्दैन,’ पौडेलले भनेका छन्, ‘सरकार ! संसदको रोस्ट्रममा उभिएर नागरिकलाई अविलम्ब जवाफ देऊ ! यो ‘सालिन आतंक’ कसले सिर्जना गरेको हो ?’ सोमबार दिनभर बेवारिसे गाडी आतंक फैलिएपछि सत्तारुढ दल रास्वपाले समेत विज्ञप्ति निकालेर उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपाले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरेका छन् ।

रास्वपाले राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र पत्रकारले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने जनाएको छ । साथै घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग रास्वपाले माग गरेको छ ।

कति नम्बरको गाडी कहाँ छाडियो ?

सोमबार बिहान अनलाइनखबरको कार्यलय अगाडि बा१२च ८५४५ नम्बरको गाडी, हिमालय टीभीमा बा२च १२५५ नम्बरको गाडी र कान्तिपुर मिडिया ग्रुपको गेटमा बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरेर चालक फरार भएका थिए ।

त्यस्तै कांग्रेस सभापति गगन थापाको निवासको गेटमा बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर राखेको भेटिएको थियो । यसबाहेक अनामनगर भाटभटेनीको भवन अगाडि पनि त्यस्तै ब‍ेवारिसे गाडी छाडिएको थियो । भाटभटेनी सुपरमार्केट अगाडि ०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा गाडी शंकास्पद तरिकाले पार्किङ गरेर छाडेको भेटिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours