नारायणगढ, असार २८ गते । गाउँका महिलाले आमा समूहबाट सुरु गरेको सानो बचत अभियानले आज आधुनिक कृषि प्रशोधन उद्योग सञ्चालनको अवस्था बनेको छ । चितवन भतेरीका महिलाले बेसार उद्योग सफलताका साथ सञ्चालन गरेर देखाएका हुन् ।
भरतपुर महानगरपालिका–२९, भतेरीस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले बेसार प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो । सहकारीले सुरुमा सानो बचत कार्यक्रम सञ्चालन गर्दै आएर अहिले ‘चन्द्रसूर्य’ ब्रान्डको अर्गानिक बेसार बजारमा ल्याएको हो । सहकारीकी अध्यक्ष मधुमाया गुरुङले उद्योग स्थापना महिलाको लामो सङ्घर्षको परिणाम भएको बताउनुहुन्छ ।
“सुरुवाती दिनमा महिलाले ओखलमा बेसार पिसेर टाउकोमा बोकेर गाउँ गाउँ र बजारमा बिक्री गर्दै आएका हौँ,” उहाँले उद्योग स्थापनाका पुराना दिन स्मरण गर्दै भन्नुभयो, “अहिले आफ्नै प्रशोधन उद्योग स्थापना गरी राष्ट्रिय ब्रान्ड बजारमा ल्याउन सफल हुँदा गर्व लागेको छ ।” उहाँका अनुसार यस वर्ष सहकारीले करिब ७० टन बेसार सङ्कलन गरी प्रशोधन गरेको छ । आफ्ना सदस्य किसानसँगै अन्य तीन सहकारीमा आबद्ध किसानको बेसारसमेत खरिद गरी प्रशोधन गर्ने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

‘चन्द्रसूर्य’ ब्रान्डको बेसार हाल चितवन, पोखरा र काठमाडौँमा बजार विस्तार भइरहेको छ । निकट भविष्यमा यसले अन्तर्राष्ट्रिय बजारमा निर्यातको लक्ष्यसमेत उद्योगले राखेको छ । भरतपुर–२९, कालिका, इच्छाकामना, तनहुँको देवघाट र नवलपुरमा गरिएको बेसार खेतीमा उत्पादित बेसारलाई उद्योगसम्म ल्याइने छ । बेसार खेती पनि महिलाकै समूहले गरिरहेको छ ।
अन्य अन्नबाली उत्पादन गर्न कठिन तथा बाँदरलगायत वन्यजन्तुको क्षति धेरै हुने क्षेत्रमा किसानले बेसार खेती गरी आम्दानी गरिरहेको सहकारीकी सचिव निर्जला गुरुङले जानकारी दिनुभयो । “आमा समूहबाट सुरु भएको महिलाको अभियान उद्योग सञ्चालनसम्म पुगेको छ । हामी सामूहिकता, निरन्तरता र आत्मविश्वास भए ग्रामीण महिलाले पनि ठुला उद्योग सफलतापूर्वक सञ्चालन गर्न सक्छौँ भन्ने उदाहरण बन्ने छौँ,” उहाँले भन्नुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केही दिनअघि उद्योगको उद्घाटन गर्दै महिलाको नेतृत्वमा सञ्चालित सहकारीले स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । “बेसार, अदुवा, प्याज र लसुन जस्ता नगदेबालीको उत्पादन विस्तार प्रदेश सरकारको प्राथमिकतामा रहेको छ,” उहाँले भन्नुभयो । उहाँले उद्यमी महिला सहकारीले सञ्चालन गरेको उद्योगलाई प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।


+ There are no comments
Add yours