एसईईको तयारी पूरा, ५ लाख १२ हजारले दिँदैछन् परीक्षा

राष्ट्रिय परीक्षा बोर्डको अनुसार बिहीबारदेखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो ।

१८ चैत, काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार बिहीबार (भोलि) देखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो ।

शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो ।

‘तयारी सकिएको छ । भोलि परीक्षा हुन्छ । प्रदेश र जिल्लासँग हिजो भर्चुअल बैठक पनि भयो । सबै तयारी पूरा भएको ७७ वटै जिल्लाबाट जानकारी आएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने ।

उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरू पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिएको छ । यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ ।

बोर्डका अनुसार ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । पहिलो दिन भोलि अंग्रेजीको परीक्षा हुनेछ ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ ।

‘परीक्षा सकिएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्छौं,’ उनले भने, ‘परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण हुन्छ ।’ केन्द्राध्यक्षको निगरानीमा उत्तरपुस्तिका परीक्षण गर्ने तयारी छ ।

‘केन्द्राध्यक्ष हुनुहुन्छ । शिक्षकहरू पनि प्रशस्तै हुनुहुन्छ । परीक्षण गर्न कठिन हुँदैन,’ उनले भने, ‘केन्द्राध्यक्षकै जिम्मामा परीक्षण हुन्छ ।’ केन्द्रमा कम उत्तरपुस्तिका हुँदा त्रुटि पनि कम हुने विश्वास बोर्डको छ ।

जुन परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

‘शिक्षक नभएको र असुरक्षित ठाउँको परीक्षण केन्द्र सार्न सकिन्छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘अरूको हकमा परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण हुन्छ ।’

यसअघि गोप्य परीक्षण केन्द्र हुनुका साथै एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए र सोही अनुसार १ महिनाभित्र सार्वजनिक गर्नेगरी बोर्डले काम गरेको हो ।

‘पहिलेभन्दा अहिले प्रविधि फरक भएको छ । नतिजाका लागि विद्यार्थीले किन ३ महिना कुर्नु ? तीन महिनासम्म विद्यार्थीलाई तनाव हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘एक महिनामात्र होइन, अझ चाँडो पनि गर्न सकिन्छ ।’

तीन महिनासम्म नतिजा कुर्न विद्यार्थीलाई गाह्रो हुने र अनावश्यक तयारी कक्षाको प्रेसर रोक्न छिटो नतिजा सार्वजनिक गर्ने निर्णयमा सरकार पुगेको हो । एसईईपछिको ब्रिज कोर्सजस्ता तयारी कक्षामा पनि मन्त्रालयले रोक लगाइसकेको छ ।

‘विद्यार्थीको रुचि अनुसार सिक्न सक्छन् । कसैले खेलकुद, कसैले म्युजिक सिक्न सक्छन्,’ मन्त्री पोखरेलले भने ।

नतिजा मात्र होइन, डाटा इन्ट्री र पुनर्योगको काम पनि परीक्षा केन्द्रबाट नै कसरी गर्न सकिन्छ भनेर छलफल भइरहेको मन्त्री पोखरेलले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours