Advertisement

आजको खेलकुद गतिविधि

0 337

Advertisement

२१ फागुन, काठमाडौं ।

सोम फाइनलमा
लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।


बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगिताको दोश्रो सेमिफाइनलमा सोमले एनआरटीका दीपक मगरलाई ७–१ ले पराजित गरे । ‘बेस्ट अफ १३’ को सेमिफाइनलमा दीपकले पहिलो फ्रेम ३८–७९ ले जिते पनि बाँकी सबै फ्रेममा सोमले अग्रता लिदै फाइनल यात्रा पक्का गरेका हुन् । बाँकी फ्रेम सोमले १०८–३२, ७१–२२, ५४–४९, ७९–५३, ६५–४१, ८९–२० र १२१–० ले आफ्नो पक्षमा पारे ।


बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको फाइनल शनिबार हुने छ । फाइनलमा सोमले नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ विरुद्ध खेल्ने छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा रेगनले फस्ट ब्रेकका अमन कार्कीमाथि ७–६ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए ।

आरबीबी–एनभीए राष्ट्रिय क्लब लिग भलिबल अर्को महिना
नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ ।


प्रतियोगिता बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने बताए । पुरुष÷महिला दुवैमा पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल खेलाइने छ । शीर्ष दुई टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नु पर्ने छ ।


पुरुषमा एचएनसीएस क्लब, एपीएफ क्लब, नेपाल प्रहरी, नेपाली सेना, नयाँबजार सामाजिक युवा क्लब, बुद्ध टोल भलिबल क्लब, बुटवलको मणिमुकुन्द क्लब र वुलवुले रारा क्लब सहभागी हुँदै छन् । महिलामा एपीएफ, सेना, प्रहरी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद्ले भाग लिने छन् ।


महासचिव चन्दले एक टिमले ३ विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको जानकारी दिदै प्रत्येक टिमलाई तयारी र यातायात खर्च वापत ५० हजार रुपैयाँ प्रदान गरिने बताए ।


पुरुष÷महिला टिम र व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीका लागि समान पुरस्कार राशी राखिएको छ । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३ लाख, १ लाख ५० हजार, ७५ हजार र ३७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकलाई समान १०–१० हजार नगदबाट पुरस्कृत गरिने छ ।

पुरस्कार राशीमा पनि पहिलेको भन्दा झन्डै ३ लाख रुपैयाँले बृद्धि गरिएको छ । कुल पुरस्कार राशी १२ लाख ९५ हजार रुपैयाँ रहेको छ । यसपटकदेखि खेलाडी र अफिसियलको विमा पनि गरिने संघले जनाएको छ ।


राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलसंग जोडिन पाउँदा खुशी लागेको बताए । भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले बैंकले भलिबल संघ प्रति देखाएको विश्वासका लागि धन्यवाद दिदै पाँचौं संस्करण पछि पनि बैंकको साथ र सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । यो संस्करणपछि दुई पक्षबीचको प्रायोजन सम्झौता सकिदै छ ।


आठदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा खेलाइने छ ।

रमिसा र माया सेमिफाइनलमा


काठमाडौं । आरडीएसकी रमिसा श्रेष्ठ र बोसिगाउँकी माया क्षत्री वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको महिला ४८ केजी तौलसमूहमा रमिसाले प्लाटिनमकी तेजीमाया गुरुङ र मायाले भक्तपुरकी करुणा चक्रधरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यही तौल समूहमा भक्तपुरकी अस्मिता दुवालले तारकेश्वरकी जानुका थापा र नक्सालकी सुस्मिता तामाङले नुवाकोटकी प्रगति थापालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।


महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाही, बोसिगाउँकी हरिना ऐर, तक्सालकी रोशनी राई र प्लाटिनमकी डेनिका राईले सेमिफाइनलमा स्थान बनाए । महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोन र बक्समान्डुकी जस्मिन केसीले पनि अन्तिम चारमा स्थान बनाए ।

महिलाको ५७ केजीमा आरडीएसकी सुमिरा रुपाखेती र रामेछापकी डोल्मा तामाङ पनि सेमिफाइनलमा पुगे । महिला ६० केजीमा केन्द्रीय बक्सिङकी स्नेहा मानन्धर र नुवाकोटकी रीता विकले सेमिफाइनलमा स्थान बनाए ।


यसैगरी पुरुष ६४ केजीमा ललितपुरका सनिल शाहीले पनि सेमिफाइनलमा स्थान बनाए । १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता शाहीले आयुषमान चटौतलाई पराजित गरे । यस तौल समूहमा धादिङका पवन गुरुङ र प्लाटिनमका अस्विनदेव श्रेष्ठले पनि अन्तिम चारमा स्थान बनाए ।


पुरुषकै ४९ केजीमा नक्सालका पवनबहादुर श्रेष्ठ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई र तारकेश्वरका सुजन ओलीले अन्तिम चारमा स्थान सुरक्षित बनाए । ५२ केजीमा कोटश्य भैरवका सुमन नेपाली, मकवानपुरका बुद्ध लामा, थानकोटका सुजन महर्जन र बक्समान्डुका वाङ्दी शेर्पा सेमिफाइनल पुगे ।


पुरुषको ५६ केजीमा कोटस्य भैरवका प्रशान्त लामा, नुवाकोटका प्रकाश मगर, चन्डोलका जेनिस गुरुङ र एचटुओका बुद्ध लामाले अन्तिम चारमा स्थान बनाए । पुरुषकै ६० केजीमा नक्सालका मौसम रानामगर, ललितपुरका आभासप्रताप शाह, बक्समान्डुका गणेश थापा र तारकेश्वरका अनिल पुन मगर पनि सेमिफाइनलमा पुगे ।


प्रतियोगिताको हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.